• ७ मंसिर २०८१, शुक्रबार

विजय र विनिसालाई ‘गौघाट ग्रीन रन’ उपाधि

blog

‘गौघाट ग्रीन रन रोड रेस’मा विजेता खेलाडीहरु । तस्बिर : गोरखापत्र

गजेन्द्र गुरुङ

खजुरा, कार्तिक २४ गते । पर्यावरण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले बाँकेको खजुरामा आयोजित ‘गौघाट ग्रीन रन रोड रेस’ मा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका  विनिसा एलजीले उपाधि जित्नुभएको छ ।

शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविकका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय हुनुभयो । छात्रातर्फ अमर माविकै विनीता पुलामीमगर दोस्रो र जनता माविकै ऋतु विष्ट तृतीय हुनुभयो ।

धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ‘दस वर्षमा दस इभेन्ट’ अन्तर्गत खजुराको गौघाटमा ग्रीन रनको आयोजना गरिएको हो । दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई नगद पाँच हजार, तीन हजार र दुई हजार रुपियाँका साथमा ट्रफीले पुरस्कृत गरिएको थियो । 

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री, समाजसेवी कृष्णमान श्रेष्ठ, वडा सदस्य लक्ष्यबहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषद्का सदस्य डिबी तामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको विश्वव्यापी सङ्कटका बारेमा विद्यार्थीलाई दौडमार्फत जागरण फैलाउन दौड आयोजना गरिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिनुभयो ।

‘फिल द ग्रिन इन यु’ नारासहित भएको ग्रीन रनको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रत्न खत्रीले विद्यार्थीमाझ जान ग्रीन रन रचनात्मक कार्य भएको बताउँदै प्रदेश खेलकुद परिषद्ले फरक खालको दौड प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरी निरन्तरताको आधार तयार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपालगन्ज म्याराथनको ‘दस वर्षमा दस इभेन्ट’ अन्तर्गत गत असोज ३ गते नेपालमै पहिलोपटक ‘रात्रि दौड नेपालगन्ज १० के’ र ‘राप्तीसोनारी रन’को आयोजना गरिसकेको छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको दिन २०६३ मङ्सिर ५ को स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्ष कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद परेकाले मङ्सिर २२ गते शनिबार हुन लागेको आयोजकले जनाएको छ ।

दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य भई देशले शान्ति, विकास समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै मङ्सिर ५ मा नेपालगन्जको बिपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवम् क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको १०औँ धारा नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।