• ७ मंसिर २०८१, शुक्रबार

च्याम्पियनको अधुरो सपना

blog

नेपाल साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता बन्यो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल खेल्नु कम उपलब्धि होइन यद्यपि नेपाली महिला फुटबल टिमको यस उपलब्धिमा नेपाली समर्थक सन्तुष्ट हुन सकेनन् । दशरथ रङ्गशालामा फाइनल हेर्न पुगेका करिब १६ हजार दर्शक र टेलिभिजन युट्युबमार्फत फाइनल हेरिरहेका १० लाखभन्दा बढी समर्थकलाई बङ्गलादेशविरुद्धको हारले ठुलो पीडा दियो । नेपाली महिला फुटबलको असफलतामा नेपाली समर्थकको दुःख, चोट र पीडा मापन गर्न नसकिने खालको थियो । यस प्रतियोगिताले नेपाली समर्थक महिला फुटबलसँगको नाता एकदम गहिरो बनिसकेको भने सिद्ध भएको छ ।

यसपालि घरेलु मैदानमा प्रतियोगिता भएकाले नेपाललाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको थियो । नेपालबाट पहिलो पटक उपाधिको आशा गर्नुका धेरै कारण थिए । यो टिम नेपाली महिला फुटबलकै सुनौलो पुस्ता मानिएको छ । करिब आठ महिनाअघि जोर्डनमा भएको वाफ च्याम्पियनसिपमा उपविजेता बन्ने क्रममा गरेको प्रदर्शनले नेपालको छवि धेरै माथि पुगिसकेको थियो । यसै गरी नेपाल घरेलु समर्थक र आफ्नै गृहमैदान दशरथ रङ्गशालामा खेल्दै थियो । टिममा फ्रान्सको शीर्ष डिभिजन लिगमा खेल्ने सावित्रा भण्डारी मात्र होइन, साफअघि आबुधाबीलाई आफ्नै गोलबाट एएफसी च्याम्पियन्स लिगको अर्को चरणमा पु¥याउने रेखा पौडेल पनि हुनुहुन्थ्यो । अझ सेमिफाइनलमा पाँच पटकको विजेता भारतलाई १० खेलाडीमा सीमित हुँदा पनि हराएपछि नेपालबाट ठुलो अपेक्षा भयो । नेपाल च्याम्पियन बनेको प्रत्यक्ष साक्षी बन्न दशरथ रङ्गशाला खचाखच भरिएको थियो । घरेलु समर्थकको ऊर्जा र मैदानको फाइदामा नेपालले फाइनलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

नेपाललाई साफ महिला फुटबलको उपाधिले सधैँ लोभ्याइरहेको छ । अहिलेसम्म भएका सात संस्करणमध्ये नेपाल छ पटक एक कदम मात्र पछि परेको हो । सुरुका पाँच फाइनलमा भारतको अगाडि नेपाल बाधक बनेर उभिएको थियो । पछिल्ला दुई संस्करणमा सो टिमलाई हराएर नेपालले भारतको हौवा निकालिसकेको छ यद्यपि अहिले नेपालको सपनाअघि बङ्गलादेश तगारो बनेको छ । अझ सहभागी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताको कुरा गर्ने हो भने १२ पटक फाइनलमा पुगेर पनि नेपालको महिला टिमले च्याम्पियन बन्ने सौभाग्य हासिल गर्न सकेको छैन । अन्तर्राष्ट्रिय फुटबलमा यति धेरै फाइनल खेलेर च्याम्पियन बन्न नसकेको खराब कीर्तिमान विरलै होला ।

प्रतियोगितामा नेपालको सुरुआत अपेक्षाकृत हुन सकेको थिएन । भुटानसँग पहिलो खेल गोलरहित बराबरीमा रोकिएपछि नेपाल तर्सियो पनि । नेपाली टिमको आलोचना पनि भयो तर त्यसपछि माल्दिभ्सलाई 

११–०, श्रीलङ्कालाई ६–० र सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा हराएर नेपालले आफ्ना आलोचकलाई चुप गरायो । यी खेलले नेपाली महिला टिम पहिलो पटक च्याम्पियन बनेर इतिहास रच्नेमा धेरै ढुक्क थियो यद्यपि फाइनल फेरि एक पटक नेपालका लागि भएन । स्ट्राइकर रेखा पौडेलले भारतविरुद्ध पाएको रातो कार्डको कारबाहीस्वरूप फाइनल खेल्न नपाउनु नेपालका लागि ‘सेटब्याक’ बनिदियो । फाइनलअघि रेखा सात गोल गरेर सर्वाधिक गोलकर्ता बन्ने होडमा हुनुहुन्थ्यो ।

यसै गरी नेपाली खेलाडी फाइनलको दबाबमा पनि देखिए । फाइनलमा बङ्गलादेशले पनि आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेको थिएन । नेपालको खेल अझ कमजोर थियो । प्रशिक्षक राजेन्द्र तामाङको केही रणनीतिक गल्तीले पनि फाइनलमा असर पा¥यो । यी कमजोरीबिच पनि साम्बा, प्रीति राई र रेखाले यस प्रतियोतिगाबाट आफ्नो नाम अझ उँचो पार्नुभयो । साम्बाले सिनियर खेलाडीको जिम्मेवारी लिएर हरेक खेलमा प्रेरणादायी प्रदर्शन गर्नुभयो । कान्छी खेलाडी प्रीतिको त विपक्षी खेलाडीहरूले पनि प्रशंसा गरे ।

अहिलेको परिदृश्यमा नेपाली महिला फुटबलको तस्बिर बदलिएको छ । अहिले नेपाली महिला फुटबलर विदेशी लिगमा पनि मज्जाले बिक्छन् ।  एन्फाले महिला फुटबलका लागि मिसन विश्वकप २०२७–३१ प्रोजेक्टको योजना बनाएको छ । नेपाली महिला फुटबलर र प्रशिक्षक भने यो खुसी क्षणिक हुने त होइन भन्ने चिन्तामा छन् । तल उल्लिखित भनाइले उनीहरूको शङ्का जायज पनि देखिन्छ । 


सेमिफाइनल खेल्न पनि गाह्रो हुने दिन आउन सक्छ 

 सावित्रा भण्डारी (साम्बा)

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपालको महिला फुटबलको राम्रो भविष्य छ भन्दै मिसन विश्वकप २०२७–३१ प्रोजेक्ट बनाएको छ तर वास्तविकता के छ भने महिला फुटबलमा लगानी छैन । महिला फुटबलको स्तर अझ उठाउन घरेलु संरचना नै बलियो हुनु पर्छ । हामीकहाँ घरेलु प्रतियोगिता हुने गरेका छैनन् । यहाँ फुटबलको विकासका लागि मेरुदण्ड मानिएको लिग पनि स्थिर छैन । ‘ग्रासरुट’ को भिजन छैन । 

प्रतियोगिता नहुँदा खेलाडीहरू ‘डिमोटिभेट’ हुन्छन् । राष्ट्रिय टिममा पर्न सक्ने थुप्रै महिला खेलाडी बिदेसिएका छन् । दुई वर्षपछि भएको लिगबाट पनि राष्ट्रिय टिमबाट खेल्न सक्ने नयाँ खेलाडी देखिएनन् । राष्ट्रिय टिममा पुरानै खेलाडी मात्र परे । हामी बङ्गलादेशसँग फाइनलमा हा¥यौँ । हामीले जिउज्यान दिएर खेल्यौँ । दर्शकको अपार माया पायौँ तर फुटबलमा अन्य धेरै कुराले प्रभाव पार्छ । हामी त्यसमा कमजोर छौँ । बङ्गलादेश र भुटान जस्ता देशमा पनि महिला फुटबलमा लगानी भइरहेको छ । तिनले नतिजा पनि ल्याइरहेका छन् । हामी अहिले पनि पहिलेकै जानेबुझेको फुटबल मात्र खेलिरहेका छौँ । फुटबल धेरै ‘टेक्निकल’ भइसकेको छ । यसका लागि विदेशी प्रशिक्षक र राम्रा ‘टेक्निकल डाइरेक्टर’ को आवश्यकता छ । राम्रो योजनासहित अगाडि बढियो भने एकदुई वर्षमै फरक आउन सक्छ । नत्र नेपाली महिला फुटबलले साफ च्याम्पियनसिपको सेमिफाइनल खेल्न पनि गाह्रो हुने दिन आउने छ ।

तयारी खासै पुगेको थिएन 

 प्रीति राई 

साफ च्याम्पियनसिपमा यसपालि च्याम्पियन बन्न सक्षम थियौँ । फाइनलमै जित्छौँ भनेर सबैले खेलेका हौँ तर जितेनौँ । फाइनलमा रणनीतिक रूपमा केही गल्ती भए होलान् । रेखा (पौडेल) दिदीले खेल्न नपाएपछि हामीलाई घाटा पनि भयो तर हारको अन्य कारण छ जस्तो मलाई लाग्छ । नेपालमा नियमित रूपमा लिग नहुँदा, प्रतियोगिता नहुँदा महिला खेलाडीले आफूलाई निखार्ने अवसर पाइरहेका छैनन् । महिला फुटबलको यति धेरै क्रेज हुँदा पनि खेलाडीले नियमित खेल्न पाइरहेका छैनन् । यसपालि साफ महिला च्याम्पियनसिप जस्तो ठुलो प्रतियोगिताका लागि तयारी खासै पुगेको थिएन । बङ्गलादेशले साफ च्याम्पियनसिपको तयारीकै लागि चाइनिज ताइपेई, भुटान, सिङ्गापुरसँग खेल्यो । बङ्गलादेशका खेलाडी पनि युवा छन् तर उनीहरूले लगातार ‘एक्सपोजर’ पाइरहेका छन् । त्यसैले उनीहरूको अनुभवले हामीलाई फाइनलमा हरायो जस्तो लाग्छ । बङ्गलादेशले पनि फाइनलमा राम्रो खेलेको थिएन तर हामी बढी दबाबमा खेल्यौँ । हामीले आठ महिनाअघि जोर्डनमा वाफ च्याम्पियनसिप खेलेपछि कुनै प्रतियोगिता पनि खेलेका छैनौँ । एक्सपोजर कम भएमा प्रतिकूल परिस्थितिमा खेलाडीहरू आत्तिन्छन् । सायद फाइनलमा त्यस्तै भयो । बङ्गलादेशले भने ‘प्यानिक’ नभईकन खेल्यो । यसका लागि महिला खेलाडीलाई अझ व्यावसायिक बनाउनु पर्छ । अनिवार्य त होइन तर ठुला प्रतियोगिताअघि ‘मोटिभेस्नल क्लास’ भएमा त्यो पनि राम्रो हुन्छ ।

 

लिग नहुँदा खेलाडी उत्पादन हुँदैन

 राजेन्द्र तामाङ (प्रशिक्षक)

नेपाल च्याम्पियन बन्न अब महिला फुटबलमा लामो योजना बनाएर अघि बढ्नुको विकल्प छैन । अब एन्फाले ‘बिग प्लान’ गर्नु पर्छ । अल्पकालीन योजनाले नेपाली महिला फुटबलको भविष्य कोरिँदैन । साफ च्याम्पियनसिपमा पनि तयारी छोटो हुँदा ‘इन्डुरेनस’ मा काम गर्न सकिएन । नेपालमा जहिले पनि ठुला प्रतियोगिताका लागि तयारी कम हुन्छ । कम समयमा सबै काम गर्न सकिँदैन, भ्याइँदैन । अब एन्फाले पक्का योजना बनाएर अघि बढ्नु पर्छ । २०२७÷३१ मा विश्वकप खेल्ने लक्ष्य छ । जगदेखि महिला फुटबलको विकासमा काम गर्नु पर्छ । ‘युथ प्रोग्राम’ हुनु पर्छ । लिग निरन्तर हुनु पर्छ । विदेशी लिगमा खेलाउने पहल गर्नु पर्छ । अन्यथा अहिलेको जोश शिथिल हुन बेर लाग्दैन । लिग नहुँदा खेलाडी उत्पादन हुँदैन । नेपाली टिममा अहिले विकल्पै छैन । थुप्रै खेलाडी त चोटबाट दुरुस्त भएर शल्यक्रिया गरी पुनः टिममा परेका छन् । यी कुरालाई मनन गरेर एन्फाले आफ्नो योजना अघि सार्नु पर्छ ।