• १ माघ २०८१, मङ्गलबार

गुरुङ र भण्डारीविरुद्ध ‘रेड कर्नर’ नोटिस जारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २४ गते । ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको रकम हिनामिनाको आरोप लागेका सहकारीका व्यवस्थापक ज्योति गुरुङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरुद्ध प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको छ ।

सहकारीको रकम हिनामिनाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसबारे अनुसन्धान गरिरहेको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको पत्रचारपछि इन्टरपोल मुख्यालयले गुरुङ र भण्डारीविरुद्ध शुक्रबार ‘रेड कर्नर नोटिस’ जारी गरेको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार रेड नोटिस जारी भएकी ज्योति गुरुङ अमेरिका र  ज्योतिबहादुर भण्डारी कम्बोडिया र आसपासका मुलुकमा लुकेर बसेको हुन सक्ने अनुमान गरिएको छ । बोगटीका अनुसार दुवैमाथि मितेरी सहकारी सञ्चालकहरूले १४ करोड ८१ लाख रुपियाँ रकम हिनामिनाको आरोपसहित किटानी जाहेरी दिएका छन् ।  

रेड नोटिस जारी भएकी ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुनुहुन्छ । ज्योति र धनराजको २०७६ सालमा सम्बन्धविच्छेद भएको थियो । सो सहकारीका अध्यक्ष कुम्मराज गुरुङको जाहेरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको थियो ।

सम्बन्धविच्छेद हुनुअघि गुरुङ दम्पतीले सहकारीबाट लिएको ऋण २०७८ चैत ४ गते ललितपुर–५ मा रहेको चार आना जग्गामा बनेको घर दुई करोड ३५ लाख रुपियाँमा बेचेर ऋण चुक्ता गरेको पाइएको छ । सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न गठित विशेष समितिले मितेरी सहकारीसहित उपत्यकाका १३ सहकारीमा बिहीबार अनुगमन गरेको थियो । जसमध्ये मितेरीसहित अन्य १० वटा सहकारी बन्द अवस्थामा भेटिएका थिए ।