• ७ मंसिर २०८१, शुक्रबार

मौलिकता जोगाउने चिन्ता

blog

तराई, मधेश र मिथिलाञ्चल क्षेत्रमा भव्यताका साथ मनाइने छठपर्वको विस्तार राजधानी काठमाडौँ, देशको अन्य भूभागसँगै विदेशमा समेत भइसकेको छ । अमेरिकामा बसाइँ सरेका मात्र होइन खाडीमा श्रम गर्नेहरूले समेत छठ मनाउन थालेका छन् । मिथिला क्षेत्रका नागरिक जहाँ पुगेका छन्, त्यहाँ छठ मनाइन्छ ।  

सनातन र वैदिक सूर्योपासना मिथिलावासीको संस्कृतिमा छठपर्वको नामले समेत स्वीकार गरिएको छ । छठमा सूर्य र उहाँकी पत्नी संज्ञालाई अघ्र्य दिइन्छ । लोक परम्परामा सूर्यपत्नीलाई सम्झामाइको नामले सम्बोधन गरिन्छ । देवतासँगै देवी अर्थात् शक्तिको पूजा गर्ने लोकपरम्पराकै कारण मिथिलाको लोकसंस्कृतिमा छठपर्वले महìव पाएको छ । कात्तिक तथा चैत महिनाको शुक्ल षष्ठीको दिन यो पर्व मनाइने भएकाले छठीमाई तथा सूर्यषष्ठी भन्न थालिएको हो । 

अथर्ववेदीय परम्पराको सूर्योपनिषद्मा सूर्य र ब्रह्मबिचको अन्तर उल्लेख छ । यसमा स्तुति र उपासनाको फल बताइएको छ । सूर्य र आत्मालाई ब्रह्मको रूप मानिएको छ । सूर्यको प्रकाशले जगत्को उत्पत्ति, प्राणीको जन्म र आत्मलाई तेजत्व प्राप्त हुन्छ । यसले नै पञ्चतत्व (वायु, भूमि, जल, आकाश र तेज) उत्पन्न गर्छ । 

छठपर्व अर्थात् छठीमाईको उपासनामा पञ्चतत्वलाई प्रयोग गरिन्छ । जलको स्रोत इनार, पोखरी, नदी वा समुद्रको किनारमा खुला आकाशमुनि दीप जलाएर भूमिबाट उत्पादित सामग्रीको प्रसाद राखेर छठीमाईको उपासना हुन्छ । छठीमाईलाई प्रकृतिको छैठौँ अंश शक्तिको रूपमा पूजा गरिन्छ । यो पर्वमा कर्ममाण्डीय ब्राह्मणको आवश्यकता नहुने भएकाले यो पर्व लोक संस्कृतिकै एक अभिन्न अङ्ग मानिन्छ ।

यो पर्व नहायखायबाट सुरु भई खरना, षष्ठीको दिन छठीमाई र सप्तमीको दिन दीनानाथ अर्थात् उदाउँदो सूर्यलाई अघ्र्य दिएर चार दिनमा सम्पन्न हुन्छ । खरनामा मुख्यतः गृहदेव (घरको देवता) को पूजा हुन्छ । फरक फरक परिवेशमा यसको विधि पनि परिवर्तन हुने गरेको छ । पहिला उखुको रसबाट तयार भएको गुड र पानीमा गम्हरी धानको चामलले बनाइएको खीर प्रसादको रूपमा तयार गर्ने चलन थियो । यो लोक परम्परामा आधुनिकताले प्रवेश गरेको ठाउँमा गुडको ठाउँमा चिनी र पानीको ठाउँमा दुधको प्रयोगसँगै प्रसादमा परिवर्तन पनि भएको हुनसक्छ । खरनाको दिन ब्रतालले ग्रहण गरेको प्रसादपछि एकै पटक उदाउँदो सूर्यलाई अघ्र्य दिने र कथा सुनेर छठ समाप्त हुन्छ । त्यसपछि व्रतालुले भोजन गर्छन् । छठ सुरु हुनुभन्दा अगाडिदेखि व्रत बस्नेहरू लोकगीतको अभ्यास गर्ने व्रmम हराएको भए पनि चार दिनसम्म पर्वको समयमा लोकगीत गाउने चलन कायम भने छ । 

छठीमाईलाई अघ्र्य दिई घर फर्केर पुनः अर्को प्रसाद तयार गरी उदाउँदो सूर्य अर्थात् दीनानाथलाई अघ्र्य दिने चलन सहरी क्षेत्रमा हराइसकेको छ । रातभर छठ घाटमै अघ्र्य राख्ने र बिहान चोखो प्रसाद राख्ने चलन भने यथावत् छ । कहीँ कहीँ घाटमै बिहानका लागि प्रसाद तयार गरिन्छ ।  

गम्हरी धानको चामल सहजै पाउन मुस्किल हुने तथा अनलाइन बजारहरूबाट मगाउँदा/किन्दा अत्यधिक महँगो हुने भएकाले बजार र घरमा सहजै पाइने अन्य जातको धानका चामलबाट प्रसाद तयार हुने गरेको छ । अघ्र्यमा प्रयोग हुने ठकुवा र भुसवालगायत अकाश छुने नारिबल र जमिनमुनि फल्ने सखरकन्दसम्म प्रयोग हुन्छ । त्यसबाहेक अन्य फलफूल, उखु, सखरकन्द, सुथनी, अदुवा र हल्दीको बोट, मुङ्गफली, काँचो धागो तथा बोडी, मुलीसम्म चढाइन्छ । यसमा न्यूनतम र अधिकतम भन्ने हुँदैन । 

छठपर्वमा भूमि अर्थात् माटोको अत्यधिक महत्व छ । माटोको घैला, सरबी (घैलालाई छोप्न मिल्ने सानो माटोको कचौरा), ढकना, चौमुखी र एकमुखी दियो प्रयोग हुन्छ । भाकल पूरा भएकाहरूले माटोको हाथीमाथि राखिएको सानो घैलामा अघ्र्यको सामग्री राख्ने चलन छ । पहिलाको समयमा दियो र हाथी काँचो माटोको हुने हुँदा जल विसर्जन गर्दा माटोमै हराउँथ्यो । पानीमा विसर्जन गरिने माटोजन्य पक्की सामग्रीले भविष्यमा सम्बन्धित क्षेत्रको मानव संस्कृति र परम्परा अध्ययन गर्न सजिलो बनाउने भए पनि हाललाई प्रकृतिमैत्री नदेखिनु स्वाभाविक हो ।  

माटोको घैला, सरबा, ढकना घरमा प्रयोग गर्ने भएकाले आगोमा पकाइएको पक्की प्रयोग हुन्थ्यो । अहिले माटोको ठाउँमा धातुको भाँडा, वर्तन प्रयोग हुन थालेको छ । बाँसबाट बनाइने सुपली, नाङ्गलो, ढकिया, छिटीको प्रयोगमा समेत कमी आएको छ । छठपर्वमा माटोको हाथीमा अघ्र्य दिने परम्पराबारे त्यति धेरै चर्चा भएको पाइँदैन । हुन त मानव र हाथीको मित्रता र द्वन्द्व पुरानो हो । छठीमाईसँग गरेको भाकल पूरा भएपछि माटोको हाथी चढाउने परम्परा छ । इन्द्र देवताको वाहन ऐरावत हाथी हो । बिहानको समयमा हाथीको दर्शन शुभ मानिन्छ । 

हाथी शाकाहारी भएकोले उखु नखाने कुरै भएन । केही ठाउँमा छठ पूजाका लागि पाँच अथवा सात वटा उखुलाई ठाँडो पारेर घर जस्तो बनाएर मुनि माटोको हाथीमाथि रहेको कोसीमा अघ्र्य राख्ने चलन छ । सूर्यलाई सूर्य विनायक भनेर समेत सम्बोधन गरिने भएकाले सूर्य र हाथीको सम्बन्ध दर्शाउँछ । गणको नायक, गणेश, बाधा हटाउने, बुद्धदेव, गुरुसहितका लाई विनायक भनिन्छ । प्राचीन चित्रकलामा मानव र हाथीको प्रयोग भएको पाइन्छ । मिथिला लोकपरम्परा, संस्कृति र कलामा कुन कालखण्डदेखि हाथीको प्रतीक प्रवेश भयो भनेर बिना अध्ययन, अनुसन्धान ठोकुवा गर्न गाह्रो छ । 

सन् १६५८ मा लन्डनबाट प्रकाशित द हिस्ट्री अफ फोरफुटेड बिस्ट्स एन्ड सरपेनट्समा लेखक एडवर्ड टाँपसेलले सूर्य र चन्द्रमाको पूजा गर्ने प्राणी हाथी रहेको दाबी गर्नु भएको थियो । केही अनुसन्धानकर्ताले टाँपसेलको दाबी गलत रहेको भन्दै आएका छन् ।

श्रीमद्देवी भागवात पूराणमा ब्रह्माकी मानसपुत्री देवेसनालाई षष्ठीदेवीको रूपमा चर्चा गरिएको लेखक डा. पुष्पज रायको मत छ । स्कन्द पत्नी षष्ठीदेवीलाई सन्तानहीलाई सन्तान तथा निर्धनलाई धन प्रदान गर्ने देवीको रूपमा समेत प्रस्तुत गरिएको छ । उमामहेश्वर, लक्ष्मीनारायण जस्तै सम्झादीनानाथको पूजा हुने गरेको तर्क केही विद्वान्को छ । उहाँहरूले सूर्यपत्नीको रूपमा छठीदेवीलाई प्रस्तुत गरे पनि प्रमाणको अभाव छ । 

छठपर्वमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिने समयमा छठीमाई एवं सम्झामाईको नामले सम्बोधन गरिन्छ । मिथिलाञ्चल क्षेत्रमा अस्ताउँदो सूर्यलाई साक्षी राखेर शक्तिको पूजा गरिन्छ । अस्ताउँदो सूर्यको पुजा गर्ने लोकपरम्परा भएको भए सूर्यपत्नी छायाको पनि अवश्य पूजा हुन्थ्यो होला । मिथिलाञ्चलवासीले उस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गर्छ भन्ने भाष्य संशोधनको आवश्यकता छ ।  

ब्रह्मपुराणमा सूर्यलाई एक हजार नामले सम्बोधन गरिएको छ । वेदहरूमा सूर्यका १४ पर्यायवाची नाम, महाभारतमा एक हजार आठ तथा ब्रह्मपुराणमा एक हजार नाम उल्लेख छ । मिथिला क्षेत्रमा पुजिने ऋषि याज्ञवल्क्यले सूर्यस्तोत्र रचना गर्नुभएको हो । याज्ञवलक्यको सम्बन्ध विदेह राजा जनकसँग रहेकोले तराई, मधेश र मिथिलाञ्चलका लागि सूर्योपासना पुराना धार्मिक पद्धतिभित्र पर्छ ।

छठ पूजाको लोकसंस्कृतिभित्र मूर्ति पूजा नरहे पनि केही ठाउँमा षष्ठी देवी (छठीमाई) को प्रतिमा बनाउन थालिएको छ । हुन त दोस्रो शताब्दीको मानिने षष्ठीदेवीको मूर्र्ति काठमाडौँ उपत्यकाको हाँडीगाउँमा छ । अर्कोतर्फ उत्खन्नको क्रममा अन्य मूर्तिसँगै सूर्य र षष्ठीदेवीका सिमरौनगढकालीन मूर्ति मधेशको विभिन्न ठाउँमा भेटिएका छन् । छठपर्वलाई विभेदरहित पर्व र प्रसादमा पर्व नगर्नेको पनि अधिकार भनिएकाले यसले राज्य सञ्चालनको ज्ञान लुकेको छ । पर्व मनाउने घरमा समेत दाजुभाइले सनेस (कोसेली) को रूपमा छठपर्वको प्रसाद पु¥याउने चलन अझैसम्म कायम छ । छठपर्वकै बेलादेखि कात्तिक पूर्णिमासम्म मनाइने सामाचकेवा पर्वले भाइबहिनीको प्रेमलाई जीवन्त राखेको छ ।  

छठपर्व ज्ञानमा आधारित लोकसंस्कृति र लोकपरम्पराको अभिन्न अङ्ग हो । यसले सूर्योपासना मात्र नभई खानपान, कृषि, उत्पादन र प्रकृति संरक्षणको अभ्यास र सम्झना गराउँछ । छठ नभएको भए पर्वकै लागि भए पनि गम्हरी धानको बिउ जोगिने थिएन । अन्य धान जस्तै यसको पनि मौलिकता र नाम हराइसकेको हुने थियो । अहिले सङ्कटमा रहेको करियाकमोट धान र लोप हुन लागेको गम्हरी धानको बिउ संरक्षण, प्रकृति मैत्री कृषि उत्पादन, जल संरक्षणलगायतको पद्धति र परम्परागत ज्ञान र सिपबारे समयमै स्थानीय र प्रदेश सरकारसँगै अन्य सरोकारवालाले अगाडि बढ्नुपर्ने देखिन्छ ।