जनार्जन खत्री
सर्लाही, चैत २९ गते । बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा शुक्रबार बिहान ट्रकले किच्दा दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन् ।
श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्बरको ट्रकले किच्दा साइकल चलाइरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगर बस्ने रामदुलार महतोकी १७ वर्षीया छोरी अन्जलीकुमारी महतोको घटनास्थलमै मृत्यु भएको हो । ट्रकले किच्दा साइकल पछाडि सवार १५ वर्षीया छोरी पूजाकुमारी महतो घाइते हुनुभएको छ ।
घाइते पूजाको श्रीनगरस्थित स्वास्थ्य संस्थामा उपचार चलिरहेको प्रहरीले जनाएको छ । मृतक अन्जलीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा रहेका छन् । स्थानीयका अनुसार रामदुलार महतोको हरिपूर्वा र श्रीनगर दुवै ठाउँमा घर रहेको छ ।
हरिपूर्वामा रहेको घरबाट शुक्रबार बिहान ८ बजेपछि श्रीनगरस्थित घरतर्फ आउँदै गर्दा रामदुलारका दुई छोरी दुर्घटनामा परेका स्थानीयले बताएका छन् । दुर्घटना लगत्तै स्थानीय वासिन्दाबाट प्रदर्शन हुन सक्ने आँकलन गरी ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
स्थानीय वासिन्दाले घटनास्थलमा कुनै समस्या नगरेका र दुर्घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।