• ३१ चैत २०८१, आइतबार

छुटेको रोम

blog

स्विट्जरल्यान्डको जुरिचस्थित एक होटेलमा ब्रेकफास्ट लिँदै माउन्ट टिटलिस घुम्ने योजना बनाइरहेका बेला नेपालमा ठुलो भुइँचालो गएको खबर थाहा पाइयो । २०७२ वैशाख १२ गतेको भुइँचालोले नेपालमा तहसनहस बनाएको थाहा भएपछि छोराछोरीको अवस्था बुझ्न हतारिएँ, जो मावलीमा हजुरबासँग थिए । म्यासेन्जर, भाइबर, ह्वाट्सएपबाट कल गर्न खोजे पनि सम्पर्कै हुन सकेन । हतारिएको मेरो अवस्था देखेर श्रीमतीले सोधेपछि मात्र बताएँ सबै कुरा । नेपालको फोन र इन्टरनेट प्रणाली सबै अवरुद्ध थियो, सम्पर्क हुन सकेन । निकैतिर सम्पर्क प्रयासपछि केही साथी र आफन्तबाट थाहा भयो, हाम्रातिर केही भएको रहेन छ तर पनि मन माने पो ! बल्लतल्ल ससुराबासँग कुरा भएपछि मात्र केही विश्वास लाग्यो ।

‘घरबाहिर खाली जग्गामा त्रिपाल टाँगेर सबैको बास चलिरहेको र सकभर छिटो नेपाल फर्किन’ भनिएपछि मनमा झन् चिसो पस्यो । भूकम्प जाँदा त्यो साढे तीनतले घरमा हाम्रा छोराछोरी मात्र तेस्रो तलामा रहेछन् । भूकम्प जाँदा छोरी श्लीषा र छोरो सौम्य नआत्तिई डाइनिङ टेबलमुनि घुस्रेर बसेको जानकारी पाएपछि मन ढुक्क भएको थियो । 

हाम्रो मन कसले बुझ्ने ? अरूले तय गरेका यात्राका कार्यव्रmममा जानै पर्‍याे, उपाय क्यै थिएन । करिब ३/४ घण्टा त जानकारी लिनै बित्यो । त्यसपछि १२ बजेतिर हामी इच्छा नभई लत्रिएर टिटलिस हिमाल जान करिब ३०/३५ किमी टाढाको एङ्गेलबर्ग पुगियो, जहाँबाट केबलकारमा माथि जानुपर्ने थियो तर घरतिरको तनावले फोटोसोटो खिचेर फर्कियौँ । 

पर्सिपल्ट टर्कीमा अराइभल भिसा लिएर त्यहाँ दुई दिन घुमेर नेपाल फर्किने योजना थियो । जुरिचबाट इस्तानबुल (टर्की) पुगेर विमानस्थलको आगमन कक्षमा भिसा लिन कम्प्युटर प्रयोग गर्न लाइनमा बस्दा पो भिसा शुल्क नगद नभएर व्रmेडिट कार्डमार्फत मात्र भुक्तानी गर्नुपर्ने थाहा भयो । आयो अर्को 

आपत् ! हामीसँग अमेरिकी डलर त थियो तर कार्ड थिएन र त्यो नभई प्रवेशाज्ञा नपाइने । चिनेजानेका कोही थिएनन् त्यहाँ, अनि अमेरिकामा हुने एक÷दुई जनासँग सो समस्या म्यासेन्जरमा राखेपछि व्रmेडिट कार्ड नम्बर त दिनुभयो तर मिलेन, काम भएन । अब हामीसँग नेपाल नै फर्किनुको विकल्प थिएन । हामी चार जना थियौँ तर हवाई टिकट एउटा पनि थिएन । 

हाम्रो समस्या बताएपछि चारै जनाको हवाई टिकट त पाइयो सोही दिनको फेरि पनि समस्याले भने छाडेन । आगमन कक्षबाट हाम्रो लगेज (सामान) बुझेर प्रस्थान कक्षमा जान पनि भिसा नै चाहिने । धन्न विमानस्थलका कर्मचारीले सहजीकरण गरिदिए । त्यसअघि विमानस्थलमा नै भेटिएका एक सहयोगी नेपाली साथीको प्रयास विफल भइसकेको थियो । अहिले सोच्छु, ती घटनाले नै त हो त्यो यात्रालाई विस्मृतिमा पारेनन् !

अचम्म लाग्छ ! त्यसपछिका प्रायः विदेश यात्रामा नेपालका परकम्पनले छाडेका छैनन् । २०८१ पुसको २३ गते चीनको सिगात्से केन्द्रविन्दु भई करिब ७ रेक्टर स्केलको भूकम्पले काठमाडौँसमेत हल्लाउँदा म नयाँ दिल्लीबाट काठमाडौँ फर्किन दिल्लीको होटेलमा चेकआउट गर्ने व्रmममा थिएँ । 

२०८१ कै फागुन १६ गते सिन्धुपाल्चोकको लिस्तीकोटमा केन्द्र भई ६.१ रेक्टर स्केलको भूकम्प जाँदा म दिउँसो स्विडेनको लुन्ड र माल्मो सहर घुमेर डेनमार्कको कोपनहेगनको एउटा होटेलमा स्थानीय समय अनुसार राति करिब १०ः३५ बजेतिर सुत्ने तरखरमा थिएँ । पछिल्ला दुई भूकम्पमा त्यस्तो क्षति भएन तर धेरैले भन्न थाले, “तपाईं विदेश जाने अनि भुइँचालो चैँ यता पठाउने ?” हुन पनि तीन पटक त्यस्तै भयो ।

यस पटक २०८१ फागुन ६ गते नर्वेको विद्युत् ऊर्जाको अध्ययन र अवलोकनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ उडेका थियौँ । लगभग सम्पूर्ण विद्युत् उत्पादनको स्रोत जल नै रहेको उत्तर युरोपेली मुलुक नर्वेकोे अवलोकन भ्रमण गर्न १४ दिनको काज र बिदा लिएको थिएँ । सुरुमा दुबई ट्रान्जिट भएर फ्रान्सको पेरिस अवतरण गर्ने अनि व्रmमशः इटालीको रोम, स्विट्जरल्यान्डकोे जुरिच, स्विडेनको स्टकहोम, नर्वेको ओस्लो, डेनमार्ककोे कोपनहेगन हुँदै नेपाल फर्किंदा युएईकोे दुबईमा दुई दिन घुमेर फर्किने गरी सबै यात्राको तयारी र तालिका बनाइएको थियो । 

घुम्ने ठाउँको उत्सुकता त छँदै थियो मुख्य गन्तव्य नर्वेको ऊर्जा विकासको अध्ययन अवलोकनको चासो बेग्लै थियो । पर्याप्त हरित र नवीकरणीय ऊर्जाले नर्वेलाई संसारकै उच्च स्थानमा पु¥याएको छ । युरोपकै सर्वाधिक र विश्वको छैटौँ स्थानमा पर्छ नर्वे जलविद्युत् उत्पादनमा । करिब ४० हजार मेगावाट जलविद्युत् जडित क्षमता भएको नर्वेको प्रतिव्यक्ति ऊर्जा खपत २८ हजार युनिट छ । यता करिब तीन हजार पाँच सय मेगावाट जडित क्षमताको नेपालको सो खपत दर ३८० युनिट मात्र  छ । नर्वेकोे जनसङ्ख्या नेपालको भन्दा करिब पाँच गुणाले कम छ । 

मध्यरातमा सूर्य उदाउने देश भनेर चिनिने नर्वेमा वास्तवमा गर्मी (समर) याममा र नर्वेको उत्तरी भागमा मात्र यो स्थिति देखिने रहेछ । अनि जाडोयाममा अर्थात् नोभेम्बरदेखि जनवरीसम्म ती ठाउँमा प्रायः घाम नै उदाउँदैन तर कहिलेकाहीँ आकाश अलि उज्यालो भने देखिने रहेछ । हामी गएको ठाउँ ओस्लो, नर्वेको दक्षिण भाग पर्ने भएकाले त्यो प्रभाव त्यति देखिँदैन रहेछ तर दिन र रातको लम्बाइमा केही भिन्नता अवश्य हुँदो रहेछ । 

यी सबै अलि अलि पहिले थाहा पाएका र धेरै त्यहाँ पुगेर देखे जानेका कुरा भए तर यति सुन्दर कुरा थाहा पाउन फेरि पनि हामीले फ्रान्सको पेरिसमा अर्कै झमेला बेहोर्नु पर्‍याे । फागुन ७ गते पेरिसमा हामीले विश्व प्रसिद्ध आइफल टावरको अवलोकन गर्‍यौँ । हामी दोस्रो तला अर्थात् १२० मिटरसम्म छ सय खुड्किला हिँडेर गयौँ । त्यसपछिको थप १४० मिटर चाहिँ लिफ्ट चढेर गयौँ र २८० मिटरको उचाइमा पुगेर अवलोकन गर्‍यौँ । पेरिस सहरमा ३३० मिटर अग्लो यो संरचना निर्माणको समयमा यो विश्वको सबैभन्दा अग्लो थियो । हामीलाई घुमाउने गाइड पाकिस्तानी तर राम्ररी बुझाउने थिए । तोकिएको समयमा भेला हुने स्थानमा आई १५÷२० मिनेट हिँड्दै होटेल आएर चेकआउट गरी अपराह्न ४ः३० बजेको फ्लाइटबाट रोम (इटाली) जान हामीलाई पेरिसको ओर्ली विमानस्थल छोड्न बाहिर लिन आएका दुई वटा भ्यानमा चढ्यौँ ।

दुई समूहमा भ्यान चढेका हामी विमानस्थल पुगेर एक समूहले अर्काेलाई पर्खिंदा एकछिन अलमल भयो, भेट भएर चेक इन काउन्टरमा लाइन लाग्यौँ । सूचना दिने पर्दामा चेक इन गरिसक्नुपर्ने समय अझै २०, २५ मिनेट बाँकी देखाइरहेको थियो । हाम्रो समूहको लाइनको सुरुमा उभिने मलाई सहजै बोर्डिङ पास दिइयो, दोस्रोमा हुने मेडमलाई ४५ युरो थप मागे छ । किन र ? भनेपछि चाहिँ छोडेछ । त्यसपछि आउने अरू साथी छेउको काउन्टरमा चेक इन गर्दा त्यस्तै ४५ युरो थप माग्ने अनि 

किन ? भन्दा सुरुमै अनलाइन चेक इन गरेर आउनुपर्नेमा नगरेकाले ओभर बुकिङ भयो, सिट नपाउन सकिन्छ, पालो पर्खेर बस्नुपर्ने हुन्छ भन्दै सिट नम्बर नखुलाई बोर्डिङ पास दिएछ । 

म अलि वर आएर पर्खिरहेको थिएँ, साथीहरूलाई । साथीहरूलाई इमेल, फोन सबै भराएर एउटा फर्ममा सही गराए छ । हामी सरासर सेक्युरिटी चेक गराएर बोर्डिङ गेटमा लाइन लाग्यौँ । अलि अव्यवस्थित र भिड बढी थियो, त्यहाँ । त्यहाँ पनि सिट नम्बर नखुलेको बोर्डिङ पास हुने हामीलाई छेउ लाएर उभ्यायो अनि सिट दिइएको म र अर्की मेडमलाई जहाज चढ्न (बोर्डिङ हुन) भन्यो तर हामीले बाँकी सात जनालाई चाहिँ किन नदिएको ? हामी एउटै समूहका मान्छे र कन्फर्म भएको टिकटमा पनि यसरी छुट्याउन कसरी मिल्छ ? भन्दा क्षमा माग्दै “दुई जना आजै जानू बाँकी सात जनालाई भोलि बिहानको फ्लाइटमा पठाइने छ र आज होटेलमा राखिने छ” भन्न थाले । 

तर हामीले त्यो प्रस्ताव स्विकारेनौँ, सबैलाई सँगै पठाउनुपर्ने र त्यो पनि आजै भन्यौँ । नमिल्ने नै हो भने नौ जनाकै टिकट भोलिको मिलाउन, होटेल बास र विलम्बबापतको क्षतिपूर्ति चाहिने अड्डी लिँदै बहस गर्दागर्दै त्यो विमान उडिसकेको थियो । त्यो बोर्डिङ काउन्टर पनि बन्द हुने भएपछि दुई जना महिला कर्मचारीले हामीलाई ‘फलो मी’ अर्थात् मेरो पछि लाग भने । हामी आज्ञाकारी भएर पछ्याउँदै गयौँ । निकै बेर हिँडाएर एउटा मोनोरेलसमेत चढाएर लगेपछि ब्यागेज सङ्कलन गर्ने ठाउँमा पु-याए । हाम्रा झोला सुटकेस चेक इन बेल्टमा घुमिरहेका थिए । हामीले आआफ्ना लगेज टिप्यौँ, एउटा थप लगेज पनि आएछ । बिचरा हाम्रो यो समस्याको घानमा को अर्कै यात्रुको लगेज छुटेछ ? भन्दै फेरि हामी पछि पछि लाग्यौँ ।

यो पाली एउटा अलिजिया नामको काउन्टर अगाडि पुर्‍याएर त्यहाँ बसेकी एक महिला कर्मचारीलाई फ्रेन्च भाषामा केही भनेर हामीलाई चै २० मिनेट जति कुर्दै गर्नु, एक जना सुपरभाइजर आउँछ उसले आवश्यक सबै ‘डिल’ गर्छ भन्दै निस्के । हामीले त्यो आउने मान्छेको नम्बर माग्यौँ तर दिन मिल्दैन भनेर हिँडे । हामी भने आज नमिले पनि भोलि बिहान त रोम जान पाइहालिन्छ, क्षतिपूर्तिसहित होटेल बासको व्यवस्था हुन्छ भनेर चित्त बुझाउँदै, नेपालको ट्राभल एजेन्टलाई समेत सम्पर्क गर्दै बस्यौँ तर २० मिनेट मात्र होइन डेढ घण्टा जति कुर्दा पनि कोही आएन । 

यत्रो बेरसम्म कोही नआएपछि त्यो अलिजियाको काउन्टरमा रहेकी महिलालाई सोध्न गयौँ । उनले सुरुमा अङ्ग्रेजी नबुझ्ने भन्दै टार्न खोजिन्, पछि रोमका लागि भोलिको कुनै टिकट नरहेको र पर्सिको मात्र रहेको भनिन् जबकि हाम्रो भोलिपल्टको राति ८ बजेतिर रोमबाट स्विट्जरल्यान्डकोे जुरिच आउने टिकट थियो ।  अनि हामीलाई पर्खिंदै गर्नू भनेर जाने ती दुई जना कर्मचारी र आउने भनिएको सुपरभाइजरबारे सोध्दा त्यसबारे काउन्टरकी महिलाले आफूलाई केही नभनेको र जानकारी नभएको बताइन् । अब हाम्रो तनावको पारो बढ्दै गयो, समय पनि घर्किंदै थियो । हामी शारीरिक र मानसिक दुवै रूपमा थाकिसकेका थियौँ । त्यहाँ हामी नौ जना अट्ने गरी बस्न कुर्सी पनि थिएनन् । यसबिचमा हामीले फ्रान्सस्थित नेपाली दूतावासमा समस्या बिसाउन सम्पर्क गर्ने कोसिस गर्‍यौँ तर फोन उठेन । त्यो दिन प्रजातन्त्र दिवसको बिदा पनि थियो । 

पुलिसमा कम्प्लेन गरौँ भनेर एयरपोर्ट पुलिस खोज्दा एक भारतीय मूलका कर्मचारी भेटिए । उनले हाम्रो समस्या सबै सुने, फोन पनि लगाए अनि त्यही काउन्टरमा उभिँदै गर्नु कोही आउँछ सहयोग गर्न भने तर कोही आएन । अर्का एक अफ्रिकाली कर्मचारीले काउन्टरमै आएर कुरा गरे तर समाधान निस्केन । त्यहाँ रातको ९ः३० जति भइसकेको थियो । काठमाडौँस्थित हाम्रो ट्राभल एजेन्ट रातको १ः३०/२ बजे पनि हाम्रो नयाँ टिकट र बासको प्रबन्ध गर्न लागिरहेका थिए । फ्रान्सेलीको धोका खाइसकेकाले अब तिनीहरूप्रति हरेक कुरामा विश्वास गुम्न थालेको थियो । धन्न एयरपोर्टभित्र इन्टरनेट चाहिँ चलेको थियो र सबैतिर सञ्चार सम्पर्क भइरहेको थियो । 

अब हामीले एयरपोर्टबाहिर पुलिस स्टेसन जाने उजुरी गर्ने अनि रोम जाने योजना दुवै रद्द गर्‍यौँ किनकि समय नै थिएन र समाधान आउला भन्ने आस पनि थिएन । अनलाइनबाट होटेल खोजी गर्‍या र बाहिर निस्केर सबै लगेजसहित नौ जना अट्ने दुई भ्यानसमेत खोजी बर्सी भन्ने ठाउँमा रहेको आइबिस होटेलतर्फ आयौँ । यी ड्राइभर चै इमानदार नै भेटिए, फ्रान्सबाहिरका रहेछन् । ५०/५० युरो भाडा दिएर होटेल रिसेप्सनमा आयौँ । 

भोलिपल्ट बिहान ब्युँझिँदा त्यही दिन अपराह्न ३ बजे पेरिसबाट स्विट्जरल्यान्डकोे जुरिच जाने स्विस एयरको टिकट हाम्रो ह्वाट्सएप ग्रुपमा देखियो । खुसीको सीमा रहेन । अघिल्लो दिनको थकान र तनाव बिस्तारै कम हुँदै गयो ।

होटेल बुक गर्दा प्रायः बिहानको खाजाको मूल्य त्यसमै जोडिएकै हुन्छ । सोही अनुसार हिजोको शारीरिक र मानसिक थकानलाई पर्याप्त आराम दिने गरी अलि ढिलै उठेर ब्रेकफास्ट गर्न सबै भेला भयौँ । हिजो जस्तो समस्या नआओस् भन्नका लागि अलि चाँडै एयरपोर्ट पुग्ने गरी होटेल चेकआउट गरी निस्कियौँ । दुई वटा ठुला भ्यान आइसकेका थिए । करिब पौने १२ बजे पेरिसको सिडिजी अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ । अनलाइन चेक इन गरी ब्यागेज दिएर सुरक्षा जाँचपछि बोर्डिङ हलमा पुगेर विश्राम गर्‍यौँ । विमान आधा घण्टा ढिला थियो । विमान चढेर स्विसको आकाशमा उड्दा त्यो भूगोल नेपाल जस्तै डाँडाकाँडा, भित्री मधेश जस्तो तर अत्यन्तै सफा, घरहरू झिँगटी लाए जस्ता भिराला छत भएका ससाना, योजनाबद्ध विकास गरिएको सहर, फ्याक्ट्रीकोे चिम्नीबाट निस्केको धुवाँ पनि बादल जस्तै सेतो र सफा देखिन्थ्यो । जुरिच सहर साँच्चै आकर्षक देखिन्थ्यो । 

फ्रान्सेली झमेलाले गर्दा स्वप्नको सहर इटालीको रोम जान पाइएन तर यो यात्राले केही पाठ सिकायो । अनलाइन बुकिङ, चेक इन जस्ता वैदेशिक हवाई यात्राका काम आफैँले र समयमै गर्नुपर्ने रहेछ । नवीन प्रविधिसँग निकट रहेर काम नगर्दा अबका यात्रा कष्टकर बन्ने रहेछन् ।