• ३१ चैत २०८१, आइतबार

निर्लज्जता

blog

पापदेखि डराउने मान्छे लाज हुने काम गर्दैनन् । लाज हुने काम निर्धक्क गर्ने मान्छे पापदेखि डराउँदैनन् । यो शाश्वत हो । होइन त ? आउनुहोस् न एक पटक चिन्तन 

गरौँ । आगोमा घिउ थपिदियो भने आगो निभ्दैन झन् 

लप्कन्छ । यसैले त आगोको जिभ्रो हुन्छ भनिएको हो, कि होइन ? कुरा के भने निर्लज्जतारूपी आगोमा घिउ थपिदियो निर्लज्जता नै बढ्छ । लज्जारूपी आगोमा घिउ थपिदियो लज्जा नै बढ्छ । 

लज्जा अर्थात् लाजलाई धक, सङ्कोच, सरम, इज्जत, हुर्मत, प्रतिष्ठा, गौरव, मान, स्वत्व भन्ने अर्थमा लिइने 

गरिन्छ । सत्य र अनुशासनमा बस्ने मान्छे कुनै काम गर्दा घरपरिवार, समाजमा लज्जित होइएला कि भनी डराउने गर्छ ।

मान्छेमा नैतिक, धार्मिक र आध्यात्मिक पक्षको मिलन रहेको हुन्छ । यी तीन तìवयुक्त व्यक्ति नै खास अर्थमा मान्छे हो । साँचो बोल्नु मान्छेको नैतिक पक्ष हो । प्रिय बोल्नु मान्छेको धार्मिक पक्ष हो । कसैलाई पनि प्रिय नलाग्ने सत्य बोल्नुको सट्टा चुप लाग्नु मान्छेको आध्यात्मिक पक्ष हो । सनातन संस्कृतिले सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल भनेको हुनाले उत्कृष्ट मान्छेले त्यस प्रकारको सनातन आदेश पालना गरेको हुन्छ । त्यो निर्देशन अवलम्बन गर्दा कहिल्यै पनि कसैको अगाडि लज्जित हुुनु पर्दैन ।

जो मानिस सत्यको बाटो समाई अनुशासनमा प्रतिबद्ध रहेको हुन्छ, ऊ गुलाब जस्तै वासनादार हुन पुग्छ । गलत कार्य गरिएला अर्कालाई हानि पुग्ला कसैले हुर्मत लिइदेला, पुर्खा र आफ्नो प्रतिष्ठामा आघात पर्ला, मुस्किलले जोगाएको इज्जत जाला, घरपरिवार, समाज तथा देशमा शिर ठाडो पार्न नसकिएला, सङ्कोच मान्नुपर्ने अवस्था आउला, धक फुकाउन नसकिएला जस्ता आदि इत्यादि विचार गरेर जसले पारिवारिक, सामाजिक, राष्ट्रिय कार्य गर्छ त्यो सबैको प्रिय पात्र हो । किन त भन्दा उसमा लज्जाबोध रहेको हुन्छ । 

आफ्नो कर्मले अरूलाई अप्ठ्यारो पर्ला र आफूले घरपरिवार तथा समाजको अगाडि शिर ठाडो पार्न सक्ने अवस्था नरहला कि भन्ने चिन्तनलाई दैनन्दिनको क्षण क्षणको कर्मका लागि एउटा निर्देशक सिद्धान्त मान्ने मान्छे निश्चय नै लज्जाबोध भएको मान्छे हो । आफ्नो कर्मले अरूलाई पीडा नहोस् र आफूले पनि त्यसको कारण अपहेलनाको पात्र भई सङ्कोचपूर्ण जीवन बाँच्नु नपरोस् भन्ने प्रवृत्ति बोक्ने मान्छे लाजप्रति सतर्क रहेको आत्मबोधले युक्त मान्छे हो । कि तपाईं बिसम्मत हुनुहुन्छ, मेरो ठम्याईमा ? नहुुनुहोस्, किनभने विसम्मति हुनुपर्ने अवस्था पटक्कै छँदै छैन ।

आफूमा रहेको नैतिक, धार्मिक र आध्यात्मिक पक्षलाई बिलकुल बेवास्ता गरी अनैतिक, अधार्मिक र अअध्यात्मिकपन अँगाल्नु निकृष्टताको प्रतीक हो । जब मान्छे झुट बोल्छ, अप्रिय बोल्छ र सत्य नै भए पनि अरूलाई अप्रिय लाग्ने कुरा बोल्दै हिँड्छ त्यस अवस्थामा उसले इज्जतको ख्याल गरेको हुँदैन । आफूले गरेको वा गर्न लागेको कार्यबाट परिवार, समाज र देशकै प्रतिष्ठा, गौरव र मानसम्मानमा धक्का पुग्ने अवस्था हुँदाहुँदै आफूलाई फाइदा र अरूलाई बेफाइदा हुने कुनै कार्य कसैले गर्छ भने त्यो निकृष्ट मानवीय कार्य हो । त्यो निर्लज्जताको एउटा रूप हो । 

मान्छे शक्तिमा पुग्न, धन कमाउन, प्रतिष्ठित हुन सरम पचाएर परिवार, समाज र देशमा निर्लज्जता प्रदर्शन गरिरहेको हुन्छ । आफ्नो अभिष्ट पूरा गर्नका लागि जस्तोसुकै तुच्छ एवं दुष्ट कर्म गर्न पछि नपर्ने जमात पनि समाजमा व्याप्त छ । त्यस्तो मान्छे पापदेखि डराउँदैन । मान्छे भईकन पनि मान्छेलाई प्रेमको साटो घृणा गर्ने उसको प्रवृत्ति हुने गर्छ । अरूलाई जेसुकै होस् तर आफ्नो भलो हुुनु पर्छ भन्ने ध्याउन्नमा नै त्यस्ता व्यक्तिको दिनचर्या व्यक्ति हुने गर्छ । यसरी नै बहकिएको छ होइन त हाम्रो सामाजिक परिवेश ? के तपाईंले लज्जाबोध र निर्लज्जतापनको दुई धारभन्दा तेस्रो कुनै पृथक् धारमा समाज बहेको पाउनुभएको छ त ? हो तपाईं नपुंसकत्व धार पनि छ भन्नु होला । त्यस्तो दुई जिब्रे धार त जता ताक पर्छ उतै बाटो सोझाइहाल्छ नि होइन र भन्या ?

निर्लज्जता भन्नु लाज पचेको अवस्था हो । लाज होला की भन्ने कुरामा बेवास्ता गरी मन लागि गर्नु नै निर्लज्जताको स्थिति हो । गर्न नहुने काम गर्दा पनि धक नमान्नु । सङ्कोचै नमानी गर्न नहुने काम गर्नु । घरपरिवार समाज तथा देशको इज्जतको ख्याल नगर्नु । शक्तिको दुरुपयोग गर्नु । प्रतिष्ठाको शिर निहुराउने काम गर्नु । मानको मर्यादा उल्लङ्घन गर्नु लज्जाहीनता अर्थात् निर्लज्जता हो । निर्लज्जताको अवस्था भनेको मान्छेले नैतिक, धार्मिक तथा आध्यात्मिकपनरूपी सिङ्गो मानवपन त्यागेर अनैतिक, अधार्मिक तथा अअध्यात्मिकपनरूपी दानवपनमा प्रवेश गरेको अवस्था हो । 

मानवीयपनले युक्त युधिष्ठिरले सबैलाई असलदेखि आफूलाई मात्र खराब ठानेको र दानवीयपनले भरिपूर्ण दुर्योधनले सबैलाई खराबदेखि आफूलाई मात्र असल ठानेको प्रसङ्ग महाभारतमा आउने गर्छ । तपाईंले पनि लज्जा र निर्लज्जताको अर्थ कसरी ग्रहण गर्नुहोला ? भन्ने उत्सुकता छ, मलाई । समग्रमा लज्जा र निर्लज्जता नदीका दुई किनारा जस्तै हुन् । लज्जामा रहँदा प्रतिष्ठा बचेको हुन्छ । निर्लज्ज भई छाडा बस्दा प्रतिष्ठा निरन्तर गुमिरहेको हुन्छ तर शक्तिको बलमा प्रतिष्ठा कायमै रहे जस्तो भान पर्ने गरी आँखामा छारो हाल्ने काम पनि भइरहेको हुन्छ । 

इज्जत र बेइज्जत लज्जा र निर्लज्जताका अर्का रूप हुन् । लज्जापन अवलम्बन गर्नेको इज्जत बचेको हुन सक्छ । निर्लज्जको इज्जत धुलोपिठो भएको हुन्छ । तपाईं पनि मेरो यसै चिन्तनमा दृढ हुुनुुहन्छ भन्ने मेरो अनुमान रहेको छ । कतिपय अवस्थामा निर्लज्ज आकारी मान्छे आफ्नो बेइज्जत गरेको भनी कसैमाथि कुर्लिरहेको पनि हुन्छ । जसको इज्जत नै छैन त्यसको बेइज्जत हुन्छ, कसरी ? ल तपाईं नै भन्नूस् न, के यो सम्भव छ ? छैन नि । आफ्नो पुर्खा र स्वयम्को प्रतिष्ठाको सम्मान गर्ने मान्छे आचारी मान्छे हो । उसले लाज होला कि, गौरव डुब्ला कि, सरममा बाँच्नुपर्ला कि भन्ने सोच पालेको हुन्छ । यस्ता मान्छे गलत काम गर्न सङ्कोच मान्छन् । धक लाग्छ उनीहरूलाई त्यस्तो धन्दा गर्न । यस्ता मान्छे रातारात धनी हुने सपना देख्न चाहँदैनन् । अरूलाई डुबाएर आफू सर्लक्क उत्रने यात्रामा सहभागी हुने रुचि हुँदैन उनीहरूमा । हिङ बाँधेको टालोलाई महìव दिन्छन् उनीहरू । 

रातारात अर्बपति खर्बपति हुन रुचि राख्ने, विलासी जीवनमा भुल्न चाहने, पद र शक्तिमा बसेर जे पनि गर्न हुन्छ भन्ने धारणा राखी शक्तिको दुरुपयोग गर्न रुचाउने आचारहीन अहङ्कारी मान्छेहरू इज्जत, सरमको दुर्योधनीय आफ्नै परिभाषा गर्ने गर्छन् । आफ्ना कर्मले अरूलाई हानि गर्दा उनीहरूमा पीडा उत्पन्न हुँदैन बल्कि त्यसलाई आफ्नो पुरुषार्थ ठान्ने गर्छन् । 

छिमेकीलाई हैरानी दिने कर्म होस् वा बाटामा हिँड्ने पथिकलाई सास्ती दिने कार्य होस् वा अर्कालाई हानि पुराएर आफूले लाभ लिने कार्य होस् कुनै कर्म गर्न पनि सङ्कोच मान्दैनन्, उनीहरू । लाज पचाएर निर्लज्ज हुन रुचि राख्ने त्यस्ता तìव समग्रमा मान्छे हुुनुको कलङ्क नै हुन् । समाजद्रोही हुन्, देशद्रोही हुन् । बुझ्न चाहँदैनन् उनीहरू त्यो क्षणिक मजाको दिगो स्वरूप कस्तो हुन्छ भन्ने कुरा ।

हो, लज्जा त्यागी निर्लज्ज हुँदा तत्कालका लागि मज्जैमजा हुन्छ । सत्य र अनुशासन छोड्दा क्षणिक लाभ त भइनै हाल्ने भो । कुनै पनि व्रिmयाको प्रतिव्रिmया त 

हुन्छ । कुनै छिट्टै होला कुनै ढिलो होला । परिणाम त आउँछ । निर्लज्जहरू परिणामतर्फ आकर्षित नभई तत्कालको लाभतर्फ मात्र आकर्षित हुने गर्छन् । फलतः पदको सम्मानभन्दा बदनाम भइरहेको हुन्छ । के यस्तो कर्म गर्नु उचित हो र ?