• ३१ चैत २०८१, आइतबार

दिव्य श्लोक (कविता)

blog

तिम्रो अस्तित्व मेरो क्षितिजको अनन्त विस्तार हो,

जहाँ हरपल नवीन सूर्योदयको आभास हुन्छ ।

तिम्रा अधरहरू मौनताका दिव्य श्लोक हुन् 

जहाँ एक स्पर्शमै ब्रह्माण्डको रहस्य साक्षात्कार हुन्छ ।


तिम्रो केशको जलप्रपात रात्रि आकाशमा विलीन हुन्छ,

जसमा अनगिन्ती नक्षत्रहरूको प्रतिविम्ब झल्किन्छ ।

तिम्रो श्वासप्रश्वास जीवनदायी समीरको स्पर्श हो,

जसले सुप्त चेतनालाई नवजीवन प्रदान गर्छ ।


तिम्रो हास्य अमृतको झरना झैँ प्रवाहित हुन्छ,

जसले हृदयको मरुभूमिमा पनि मधुमास ल्याउँछ ।

तिम्रो प्रेमको गन्ध रहस्यमय वनको सुवास हो,

जसले अन्तरआत्मालाई अनन्त शान्ति दिन्छ ।


तिम्रो स्मृति मेरो हृदयको अन्तरकुन्तरमा गुञ्जिन्छ,

जहाँ केवल तिम्रै प्रतिध्वनि अनवरत रहन्छ ।

यो विरक्त मन तिम्रो दिव्य उपस्थितिको याचक हो,

एक झलक पाए यो जीवन परमार्थमय हुन्छ ।


तिम्रो रूप कल्पनातीत इन्द्राणीको विलास हो,

जसलाई अवलोक गर्दा यो नश्वर मन दिव्य हुन्छ ।

यो अकेला यात्री तिम्रो प्रेमको दुर्गम पथको साधक हो,

तिम्रो सानिध्य पाए हर अवरोध सहज हुन्छ ।