साहारा लिम्बू
फुङलिङ, चैत ३० गते । अल्लोबाट उत्पादित कपडाको सिलाई बुनाइसँगै मनग्य आम्दानी लिन थालेका छन् । स्थानीय स्तरमै पाइने कच्चा पदार्थलाई प्रवर्धन गर्दै यहाँका महिलाले आम्दानी समेत लिने गरेका हुन् ।
सीप विकास सँगै स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरेपछि आमाहरू थप सक्षम भएका छन् । खेर गाई रहेको सामानहरूलाई सदुपयोग गर्न तालिम दिएपछि उत्पादनसँग जोडिएको फुङलिङ नगरपालिका वडा नं १० का अध्यक्ष सन्तोष लिम्बूले बताउनुभयो ।
१६ जना महिलालाई दक्ष बनाइए पछि सीपयुक्त जनशक्ति उत्पादन समेत भएको छ । स्थानीय स्तरमा पाइने सामाग्री अल्लो, भाङ्ग्रे सिस्नु, लोक्ता लगायतलाई सङ्कलन गरी प्रशोधन गरेर सामाग्री तयार पार्ने गरी सक्षम भएको प्रशिक्षार्थीले बताएका छन् । तालिममार्फत विभिन्न १३ किसिमका झोला (ब्याग) तयार पारि बिक्री गर्न समेत सफल भएको प्रशिक्षार्थीको भनाइ छ । आफूले उत्पादन गरेका सामाग्रीको बजारीकरण भएमा भावी दिनमा यसै क्षेत्रमार्फत गुजारा चलाउन सकिने सम्भावना बढेको प्रशिक्षार्थीले बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रशिक्षार्थी रूपा लिम्बूले तालिम अत्यन्तै प्रभावकारी भएको र भावी दिनमा थप अन्य किसिमका तालिमको अपेक्षा गरेको बताउनुभयो । यस्तै वडाध्यक्ष सन्तोष लिम्बूले प्रशिक्षार्थीले उत्पादन गरेका सामाग्रीको बजारीकरणका लागि पहल थाल्ने बताउनुभयो । उहाँका अनुसार प्रशिक्षार्थीले उत्पादन गरेका झोलाहरू वडाका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गर्ने गरी बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।