• २१ मंसिर २०८१, शुक्रबार

राष्ट्रपतिमा ट्रम्प : विश्व सम्बन्धमा नयाँपन आउन सक्छ

blog

काठमाडौँ, कात्तिक २२ गते । अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड जे ट्रम्पको पुनरागमनले विश्व शक्तिहरूको सम्बन्धमा परिवर्तन ल्याउने सम्भावना बढेको छ । ट्रम्पको विजयसँगै अब विश्वको शक्ति सन्तुलनमा पहिलेको तुलनामा निकै फरक आउने टिप्पणी कूटनीतिज्ञले गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका तर्फबाट पूर्वस्थायी प्रतिनिधि जयराज आचार्य अमेरिकाको शक्ति प्रयोग र उपयोग पहिलेभन्दा फरक तवरले जाने औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “विश्वको राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, युद्ध, द्वन्द्व र व्यापार पारवहनको सम्बन्धमा उथलपुथल नै ल्याउँछ ।” उहाँका अनुसार रुससँगको चिसो सम्बन्ध न्यानो हुन सक्छ भने दक्षिण युरोप अलिक अप्ठ्यारोमा पर्छ । परिणामस्वरूप युक्रेनसँगको सम्बन्धमा अमेरिका कठोर हुन सक्छ । 

उहाँका अनुसार मध्यपूर्वमा इजरायललाई अमेरिकाको साथ थप बढ्छ, जसका कारण ‘हमास’ अझ अप्ठ्यारोमा पर्न सक्छ । चीनसँगको सम्बन्ध केही सौहार्द भए पनि व्यापारिक लेनदेनतर्फ बढी केन्द्रित हुने सम्भावना ट्रम्पको जितले बढाएको छ । अमेरिकाले चीनलाई भन्सार दरमा बढोत्तरी गरेर आफूमैत्री नीति ल्याउने सम्भावना पनि उत्तिकै छ । जसका कारण चीन तेस्रो विश्वको यात्रामा अग्रसर हुन बाध्य हुन सक्छ । भारतसँगको सम्बन्ध जो बाइडेनको पालामा भन्दा बढ्न सक्छ । नेपालसँग भने पहिलेकै स्तरमा कूटनीतिक सम्बन्ध कायम रहने आचार्यको भनाइ छ । 

ट्रम्प नयाँ राष्ट्रपतिका रूपमा आउँदा संयुक्त राष्ट्रसङ्घमा चीन र रुसको प्रभुत्व बढाउन सहयोग गर्छ । उता फ्रान्स र बेलायतको अवस्था थप कमजोर हुने सम्भावना रहेको उहाँ टिप्पणी गर्नुहुन्छ । 

चीनका लागि पूर्वराजदूत टङ्क कार्की भने ट्रम्पको आगमन विश्वकै लागि शान्तिको सूचक हुने प्रबल सम्भावना औँल्याउनुहुन्छ । विश्वमा व्याप्त युद्ध र द्वन्द्वको अन्त्यतर्फ अग्रसर हुने उहाँको आकलन छ । उहाँले भन्नुभयो, “उहाँ अमेरिकाको राष्ट्रपति हुनु भनेको विश्वमा व्याप्त युद्ध र महाशक्ति राष्ट्रहरूबिचको द्वन्द्व कम हुने आशा पलाउनु हो ।” जस अनुसार युरोप र मध्यपूर्वमा मौलाएको युद्धको आक्रान्त अवस्था मत्थर हुने छ । 

ट्रम्पले निर्वाचन जिते युद्ध साम्य गर्न कोसिस गर्ने घोषणा गर्नुभएको स्मरण गर्दै पूर्वराजदूत कार्कीले त्यो वाचा पूरा गर्न सम्बन्ध सुधारोन्मुख बनाउन पहल हुने आशा व्यक्त गर्नुभयो । रुस–युक्रेन मामिलाको अन्त्य मात्र भयो भने पनि उहाँको कार्यकाल सफल भएको ठहरिने कार्कीले औँल्याउनुभयो । युरोपमा मात्र होइन, एसियाका शक्ति राष्ट्रसँग अमेरिकाको सम्बन्ध थप सुमधुर हुने कार्कीले बताउनुभयो । उहाँका अनुसार यसअघि अमेरिका चीनबिच चिसिएको सम्बन्ध राम्रो हुने छ । भारतसँग अमेरिकाको निकटता बढ्दै एसियामा अमेरिकाको उपस्थिति प्रगाढ हुने सम्भावना बलियो छ । 

उहाँले थप्नुभयो, “सुखद कुरा के हो भने रुस–युक्रेन युद्धले तेस्रो विश्वमा छाएको सन्त्रासको अन्त्य हुन्छ । जुन नेपालका लागि पनि सुखद पक्ष हो ।” नेपालसँगको कूटनीतिक सम्बन्धमा ठुलो फरक नआउने, पहिलेको जस्तो सम्बन्ध छ त्यसमा स्थिर रहने कार्कीले प्रस्ट्याउनुभयो । 

पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई भन्नुहुन्छ, “विश्व परिदृश्यमा शक्ति राष्ट्रहरूको सम्बन्ध आफ्नै किसिमको हुन्छ । त्यसमा नेतृत्व फरक आउँदा त्यति धेरै अन्तर आउँदैन । तथापि अमेरिकामा ट्रम्पको राष्ट्रपतिमा जित हुनु रिपब्लिकन पार्टीका लागि भने ठुलो जित नै हो ।” जितपछिको अवस्थामा पनि सबैलाई समान अवसर र मौका दिँदै बोल्न दिएकाले सम्बन्ध सुधारमा उहाँको ध्यान केन्द्रित हुने सम्भावना बलियो रहेको भट्टराईले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विवाद र दबाबका बिचको जितले ट्रम्पलाई धेरै कुरा सिक्ने अवसर सिर्जना भएकाले पनि राष्ट्रको अबको यात्रालाई सही सदुपयोग गर्ने सम्भावना छ ।” अमेरिका शक्तिराष्ट्र थियो र पछि पनि रहने छ तर कसरी त्यसलाई अघि बढाउने भन्ने मात्र ट्रम्पको चुनौती रहेको भट्टराईले औँल्याउनुभयो । 

पदभार सम्हालेपछि अमेरिकी राष्ट्रपतिले लिने नीतिहरूले ती विषय तय गर्ने दाबी उहाँले गर्नुभयो । नेपाललगायतका साना मित्रराष्ट्रले सामान्य सतर्क रहेर विकासका लागि कसरी अमेरिकाबाट बढी फाइदा लिन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव उहाँको छ । हालको निरन्तरको सहयोग र सम्बन्ध नेपाल र अमेरिकाबिच कायम रहनेमा कुनै शङ्का नरहेको भट्टराईले प्रस्ट पार्नुभयो ।