• ७ पुस २०८१, आइतबार

छयसट्ठी वर्षअघि नेपालमा चल्थ्यो ढुङ्गेरेल

blog

भीमनगरदेखि धरानको घोपासम्म कुद्ने रेलको सर्दुखोलामा रहेकोे भग्नावशेष ।

बाबुराम कार्की 

वराहक्षेत्र, कात्तिक २२ गते । यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो । कोशी किनार र आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले इन्जिनको गाडी नदेख्दै छ दशकअघि नै नेपालमा रेल चढेका थिए ।

सुनसरी, सप्तरीको सीमामा पर्ने भीमनगरदेखि धरानको घोपा र चतरासम्म सञ्चालनमा हुने ढुङ्गेरेलमा यात्रा गरेको अनुभव कतिपयसँग अझै ताजै छ तर युवापुस्ताले रेल चलेको देख्न पाएनन् ।

नेपालको पूर्वी क्षेत्रमा रेल गुड्न सक्ने सम्भाव्यतालाई ढुङ्गेरेलको इतिहासले पुष्टि गरेको छ । विसं २०१६ देखि २०४५ सम्म सञ्चालित ढुङ्गेरेल ढुङ्गा ओसार्ने प्रयोजनले सञ्चालन भएको थियो । 

विसं २०११ वैशाख १२ गते (२५ अप्रिल सन् १९५४) मा नेपाल र भारत सरकारबिच भएको कोशी सम्झौतापछि विसं २०१६ देखि कोशी ब्यारेज पुल निर्माण गर्न आवश्यक ढुङ्गा, गिट्टी ढुवानी गर्न रेल चलाइएको थियो । 

गाडीभन्दा पहिल्यै रेल गुड्यो

ढुङ्गा ओसार्नका लागि ल्याइएको रेलबाट कोशी किनार आसपासका बासिन्दा धरानदेखि भीमनगरसम्म आवतजावत गर्ने गरेको जानकारहरू बताउँछन् । चतरादेखि भीमनगरसम्म रेलमै चढेर आवतजावत गर्ने गरेको अनुभव सुनाउँदै ८५ वर्षीय चन्द्रबहादुर कार्कीले उत्साहभावमा भन्नुभयो, “रेलमै चढ्नका लागि भोकतिर्खा नै माया मारेर कुदिन्थ्यो । बसभन्दा पहिला रेल चढियो ।”

४७ किलोमिटरको दुरीमा कोइला र पानीबाट रेल चल्थ्यो । १० भन्दा बढी डब्बामा ढुङ्गा ओसार्ने गरेको रेलमा एउटा ड्राइभर, रातो र हरियो झन्डा बोक्ने एक/एक जना कर्मचारी हुन्थे । धरानको फुस्रेका पहाडबाट घिर्लिङ (रोपवे) को सहायताले ल्याइएका ढुङ्गा रेलवे चोकबाट कामदारले रेलमा ढुङ्गा चढाउने (लोड गर्ने) गर्थे । रेलबाट दैनिक ओसारिएका ढुङ्गा सम्झौता अनुसार ब्यारेज पुल बनाउन भीमनगर ल्याइन्थ्यो ।

प्रकाशपुर धरहरा टोलका ७० वर्षीय नेत्रबहादुर घिमिरेका अनुसार केही यात्रु रेल चढेर आनन्द लिनकै लागि ढुङ्गामाथि बसेर पनि भीमनगर जान्थे । भीमनगरबाट छुट्ने ढुङ्गेरेलको स्टेसन कुशाह, मधुवन, राजाबास, चव्रmघट्टी, चतरा, बाङ्गे, घोपा क्याम्पमा रहेको थियो । भीमनगरबाट छुट्ने रेल खाली हुने भएकाले धरान जाने यात्रु बोकेर जान्थ्यो । फर्कंदा घोपा र चतराबाट डब्बाभरि ढुङ्गा बोकेर फर्किन्थ्यो ।

५० पटकसम्म रेलमाथि चढेको अनुभव बटुलेका चतराका युवराज भट्टराईले चेप्टा ढुङ्गामाथि भए पनि छुक छुक गर्दै चल्ने रेलमा आफ्ना साथीसँग भीमनगरसम्म पुग्ने गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “रेलका डब्बाभरि टनाटन ढुङ्गा, ती ढुङ्गामाथि मान्छे बसेका हुन्थे । हामी मात्रै होइन, रेल चल्ने आसपासका बासिन्दा रेल चढ्न हुरुक्क हुन्थे । ढुङ्गामाथि बसेर रेलमा गरेको यात्रा अविस्मरणीय छ ।”

चोरियो डब्बा र लिक

२०४५ सालमा ढुङ्गेरेल बन्द भएपछि रेलका डब्बा र लिक चोरी भए । अहिले रेल कहाँबाट कुदेको थियो भन्नेसम्म अनुमान लगाउन सकिँदैन । रेल गुडेको केही ठाउँमा बस्ती बसेका छन् । भीमनगरदेखि धरान रेलवेसम्म र चक्रघट्टीदेखि चतरासम्मको स्थानमा रेल कुदेको कुनै पनि भग्नावशेष देख्न पाइँदैन । ब्यारेजको काम सम्पन्न भएपछि ढुङ्गेरेलको संरक्षण नगरिएकाले यो रेल इतिहासमै सीमित रह्यो । 

गाडी नदेखी रेल चढेका स्थानीयवासीले रेलको कुरा गर्दा गाडी देखेर हुर्किएकाका लागि कहानी जस्तै हुन सक्छ । भीमनगरदेखि धरान रेलवेसम्म र चक्रघट्टीदेखि चतरासम्मको स्थानमा रेल कुदेको कुनै पनि भग्नावशेष बाँकी छैन । स्थानीय भीष्म कार्कीले भन्नुभयो, “बाबुबाजेकै पालामा चलेको रेल बेला बेला हाम्रो पालामा पनि चल्ने कुरा उठिरहन्छ तर यो विषय कार्यान्वयन भएको छैन । हाम्रा छोरानातिका पालामा पनि यस ठाउँमा रेल कुदेको देख्ने चाहना छ ।”

पर्यटकीय सम्भावना 

पहिले रेल कुद्ने क्षेत्र पर्यटकीय सम्भावनायुक्त क्षेत्र हो । ढुङ्गेरेल जस्तै मिनीरेल सञ्चालन गर्न सके कोशीटप्पु वन्यजन्तु आरक्षण, वराहक्षेत्र र रामधुनी, धरान हुँदै भेडेटारसम्म आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुने स्थानीयको भनाइ छ । 

होटेल व्यवसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले चतरा घरनजिकै रेलवे स्टेसन भएकाले फुर्सद हुनेबित्तिकै रेलमा चढेर ब्यारेजसम्म पुग्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “पुनः रेल चलाउन सके भारतीय पर्यटकको आगमनमा वृद्धि हुन्थ्यो । ओझेलमा परेका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको पर्यटन विकासमा सहयोग पुग्थ्यो ।”

वराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीले वराहक्षेत्रमा रेल चलाउन सके पर्यटन प्रवर्धनमा नयाँ युग थालनी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिल्यै रेल चले पनि रेल चल्ने सम्पूर्ण आवश्यक संरचना पुनः तयार पार्नुपर्ने हुँदा स्थानीय तहले मात्रै चाहेर यो सम्भव छैन । प्रदेश, सङ्घीय सरकार वा निजी क्षेत्रले लगानी गर्नुपर्ने र राज्यले रेलसम्बन्धी नीति निर्माण गरेरै कार्यान्वयनमा जानु पर्छ ।” कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले योजना बनाएर रेल सञ्चालन गर्न सकिने बताउनुभयो । कोशी प्रदेश योजना आयोगका प्रवक्ता त्रिलोचन न्यौपानेले रेलको चर्चा उठे पनि आवधिक पञ्चवर्षे योजनामा नसमेटिएको बताउनुभयो ।