• ७ पुस २०८१, आइतबार

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

blog

अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी । तस्बिर : एएफपी

गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक २१ गते ।
अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ ।  जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ ।

उहाँको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ ।

ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहनुभएको थियो।उहाँ २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा हुनुभएको थियो।

बहुप्रतिक्षित सातवटा स्वींग स्टेट अरिजोना (११), जर्जिया (१६), मिचिगन (१५), नेभाडा (६), पेन्सिलभेनिया (१९), विस्कन्सिन (१०) र नर्थ क्यारोलिना (१६) को अधिकांश मत र इलेक्टोरल कलेज पनि उहाँकै पक्षमा परेपछि ट्रम्पले विजय हात पार्नुभएको हो।

आजको परिणामले तल्लो सदन र माथिल्लो सदन दुवैमा रिपब्लिकन पार्टीको बहुमत हुने पक्का भएको छ।अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमतका लागि आवश्यक ५१ मध्ये ५१ स्थानमा रिपब्लिकन पार्टीले विजय प्राप्त गरिसकेको छ।तल्लो सदन हाउसमा पछिल्लो परिणाम अनुसार आवश्यक २१८ मध्ये रिपब्लिकन पार्टीले दुई सय दुई र डेमोक्रेटिक पार्टीले १७५ प्रतिनिधि प्राप्त गरेको छ। 


ट्रम्पको दोस्रो कार्यकालले ‘अमेरिका प्रथम’ नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना छ । व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ । उहाँका समर्थकहरूले यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन् ।

ट्रम्पको विजयले आर्थिक मोर्चामा समेत नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ । विशेष गरी अमेरिकी बजारमा सकारात्मक सङ्केत देखिएको छ भने अमेरिका–चीन व्यापार युद्धलाई पुनः सुरु गरिने डर पनि छ । ट्रम्पको दोस्रो कार्यकालमा जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकाको सहभागितामा कमी आउन सक्ने र यसले विश्वव्यापी असर पार्न सक्ने विश्लेषकहरूको राय छ ।

अन्ततः ट्रम्पको विजयले अमेरिकाको आन्तरिक र बाह्य नीति, विश्वव्यापी सन्तुलन र कूटनीतिक रणनीतिमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।

डोनाल्ड ट्रम्पको जन्म १४ जुन १९४६ मा न्यूयोर्कको क्वीन्समा भएको थियो । 

यो पनि पढ्नुहोस

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प

अमेरिका निर्वाचन: ट्रम्पको अग्रता कायमै

उहाँका बुबा एक धनी घरजग्गा विकासकर्ता र उहाँकी आमा गृहिणी हुनुहुन्थ्यो । पाँच सन्तानमध्ये चौथो र दोस्रो छोरा ट्रम्पले हाईस्कूलको लागि ग्रामीण न्यूयोर्कको एक निजी बोर्डिङ स्कूलमा पढ्नु भएको थियो । उहाँले आफ्नो कलेजको पहिलो दुई वर्ष न्यूयोर्क शहरको फोर्डहम विश्वविद्यालयमा बिताउनु भयो । उहाँले पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कूल अफ फाइनान्स एण्ड कमर्स (अहिले व्हार्टन स्कूल भनेर चिनिन्छ) मा आफ्नो शिक्षा पूरा गर्नुभएको थियो । 

स्नातक पछि ट्रम्प न्यूयोर्क शहर फर्किनु भयो र आफ्नो बुबाको घर जग्गा व्यवसायका लागि काम गर्न थाल्नु भयो ।