प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ २६ गते । गौर कारागारबाट मङ्गलबार राति फरार भएका कैदीबन्दी मध्ये १३ जनालाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ ।
गौर बैरगनिया सीमा नाकाबाट भारततर्फ प्रवेश गर्ने क्रममा भारतीय सीमामा एसएसबीले नियन्त्रणमा लिएका छन् । जेनजीको आन्दोलनपछि भारतीय एसएसबीले सीमा नाकामा कडाइ अपनाएका छन् ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–४ का जितेन्द्र गिरी र राजेश पटेल, गौर नगरपालिका–५ का विवेक मिश्र, गरुडा नगरपालिका–५ का गणेश साह र रणधीर यादव, गढिमाई नगरपालिका–१ का सन्तोष राम, इशनाथ नगरपालिका–२ का राजन साह सोनार, दुर्गाभगवती गाउँपालिका–४ का अजय यादव र देवाही गौनाही नगरपालिका–५ का मोहन साह रहेका छन् ।
त्यस्तै, भारत पूर्वी चम्पारण घोड़ासाहन बसबरियाका मोनु जायसवाल, घोड़ासाहन महुआई–७ का राकेशकुमार, चिरैया थाना क्षेत्र दीपही–२ का मुनिफकुमार यादव र सीतामढी जिल्ला मेजरगञ्ज थाना मडपा सिरपालका सुधीर कुमारमहतो रहेका छन् ।
बैरगनिया थाना प्रमुख उमाशङ्कर रजकले पक्राउ परेका गौर–५ का विवेक मिश्र बैरगनिया क्षेत्रकै एक हत्या प्रकरणमा फरार अभियुक्त रहेकाले उनलाई सीतामढी न्यायिक हिरासतमा पठाइएको बताउनुभयो ।
अन्य १२ कैदीबन्दीलाई बैरगनिया प्रहरी नियन्त्रणमा राखिएको छ । उच्च अधिकारीहरूको निर्देशनपछि नेपाल प्रहरीको जिम्मा लगाउने उहाँले बताउनुभयो । गौर कारागारमा रहेका २ सय ९१ जना कैदी बन्दी मध्ये २ सय ६० जना कैदीबन्दी मङ्गलबार राति फरार भएका थिए । फरार कैदीबन्दीहरूमध्ये ३१ जनालाई मङ्गलबार राति नै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । अहिले पनि दुई सय १६ जना कैदीबन्दी फरार नै रहेको छ ।
फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको कारागार कार्यालय रौतहटका प्रमुख मनिष झाले जानकारी दिनुभयो ।