• २६ भदौ २०८२, बिहिबार

संविधानभित्रै समाधान खोज्न लोकतान्त्रिक मोर्चाको आग्रह

blog

संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरु । फाइल तस्बिर

काठमाडौं, भदौ २६ गते । संघीय लोकतान्त्रिक मोर्चाले संसदभित्रैबाट समस्या समाधान सम्भव हुने भन्दै असंवैधानिक बाटोबाट जोगिन सबैलाई अपिल गरेको छ ।

मोर्चाले मंगलबार जारी गरेको विज्ञप्तिमा सुशासन, भ्रष्टाचार नियन्त्रण तथा न्यायका लागि उठेका जेन जी युवा पुस्ताको आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा सरकारले सत्ता र शक्तिको दम्भमा दमनकारी नीति अवलम्बन गर्दै राज्य आतंक फैलाएको आरोप लगाइएको छ । 

उक्त दमनका क्रममा दर्जनौं युवाको ज्यान गएको र हजारौं घाइते भएको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, “सरकारको हिंसात्मक कार्यप्रति मोर्चा घोर विरोध, भर्त्सना र निन्दा गर्दछ ।”

मोर्चाले शाहदत प्राप्त युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै शहीद परिवारजनप्रति गहिरो संवेदना प्रकट गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध हिंसात्मक दमन अवलम्बन गरेको आरोप लगाउँदै मोर्चाले कडा आपत्ति जनाएको छ । 

देशको वर्तमान विषम परिस्थितिमा शान्ति, सुरक्षा, सामाजिक सद्भाव, सहिष्णुता र कानुन व्यवस्था कायम गरी अमनचैन स्थापनाको आवश्यकता रहेको मोर्चाको भनाइ छ । 

विज्ञप्तिमा भनिएको छ, “ओली नेतृत्वको सरकार पतन भइसकेको हुँदा युवापुस्ताका माग सम्बोधन हुने गरी जनतामा निहित सार्वभौमसत्ता, मौलिक हक, नागरिक स्वतन्त्रता, समावेशिता, संघीय प्रणाली, राष्ट्रिय पहिचान, लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका आधारमा नयाँ सरकार गठन गरिनु जरुरी छ ।”

 संविधानबारे गम्भीर असन्तुष्टि राख्दै पनि मोर्चाले संसद र संविधानको चौकटमै समस्या समाधान खोज्नुपर्नेमा जोड दिएको छ । 

विज्ञप्तिमा भनिएको छ, “नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित छ, त्यसैले संविधान र संसदको प्रतिकूल हुने कुनै पनि कार्य मोर्चालाई स्वीकार्य हुने छैन ।”

विज्ञप्तिमा असंवैधानिक बाटो, अतिवादी चिन्तन र प्रतिगमनकारी चलखेलविरुद्ध सतर्क रहन सबैमा अपिल गरिएको छ ।

विज्ञप्तिमा संघीय लोकतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवको हस्ताक्षर रहेको छ ।