वीरगञ्ज (पर्सा), कात्तिक २१ गते । छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाउनुभएकी भारतीय लोक गायिका शारदा सिन्हाको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहनुभएकी ७२ वर्षीया गायिका सिन्हाको मङ्गलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भोजपुरी तथा मैथली भाषाकी लोक गायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् । उहाँले गाउनुभएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन् ।
वीरगन्जका कला साहित्य क्षेत्रमा अनुरागीहरूले पनि लोक गायिका सिन्हाको निधनले स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोक गायिका सिन्हालाई भोजपुरी गीतका उज्जवल नक्षेत्रको रूपमा स्मरण गर्नुभयो ।
“सिन्हाले लोकआस्थाका रूपमा मनाइने पर्व छठको गीतलाई आफ्नो सुमधुर आवाजमार्फत जनस्तरमा पुर्याउनुभएको छ । उहाँले गाउनुभएका छठका गीत अहिले पनि वीरगन्जका विभिन्न छठ घाटहरूमा गुन्जिरहेका छन्”, उहाँले भन्नुभयो, “लोक गायिका सिन्हाले भोजपुरीसँगै चर्चित हिन्दी गीतहरू पनि गाउनुभएको छ ।”
प्रतिष्ठानका पूर्वसचिव उपाध्यायले लोक गायिका सिन्हाको निधनले भोजपुरी कला र साहित्य क्षेत्रले अपूरणीय क्षति बेहोरेको बताउनुभयो । “सिन्हा जस्तो लोककलाकार पाउन भोजपुरी कला र साहित्य क्षेत्रले अझै धेरै समय कुर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “गीत, साहित्य, सङ्गीतले भूगोल र सीमालाई हेर्दैन । साहित्य, कला र सङ्गीत विश्वसँग जोडिएका विषय भएकाले पनि उहाँको निधनले हामी स्तब्ध भएका छौँ ।”
पूर्वसचिव उपाध्यायले सिन्हा भोजपुरी कला र गीतप्रति रुचि र लगाव राख्ने अनुरागी भएको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
लोक गायिका सिन्हाको जन्म भारतको विहार राज्यमा भएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य एवम् नेपाल भोजपुरी समाजको सहसचिव अजमत अलि अन्सारीले भारतीय लोक गायिक सिन्हाको निधनले भोजपूरी गीतले महान् स्रष्ठा गुमाएको बताउँदै उहाँलाई स्मरण गर्नुभयो ।
“भारतीय हिन्दी गीत, सङ्गीतमा जसरी लता मङ्गेशकरलाई चिनिन्छ, त्यस्तै गरी भोजपुरी गीतका क्षेत्रमा शारदा सिन्हालाई चिन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “सिन्हाले छठका गीत गाएर प्रसिद्धि कमाउनुभयो । छठकै समयमा उहाँको निधन भएकाले गीतका अनुरागीहरूलाई मर्माहत बनाएको छ ।”
भारतीय लोक गायिका सिन्हाले भारतको लब्धप्रतिष्ठित पद्यश्री र पद्यभुषण अवार्डसमेत प्राप्त गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । लोक गायिका सिन्हाको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । रासस