• २६ मंसिर २०८१, बुधबार

मल अभाव नहुने दाबी

blog

घोराही समाचारदाता

घोराही, कात्तिक २१ गते ।  दाङमा हिउँदे खेतीका लागि मलको अभाव नहुने भएको छ । हिउँदे खेतीका रूपमा किसानले छर्ने तोरी, मुसुरो, गहुँलगायतका बाली लगाउन आवश्यक रासायनिक मल पर्याप्त रहेको कृषि सामग्री कम्पनी लिमिटेड घोराहीले जनाएको छ । 

जिल्लामा घोराही, लमही र तुलसीपुरमा रहेका कृषि सामग्री कम्पनी लिमिटेडका शाखा कार्यालयमा किसानका लागि आवश्यक मल मौज्दात छ । हिउँदे बालीका लागि आवश्यक मल मौज्दात रहेकाले यस वर्ष मलको समस्या नहुने कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका प्रमुख टोपाराम गौतमले जानकारी दिनुभयो । उहाँले किसानलाई कोटाका आधारमा सहकारीमार्फत मल वितरण गरिने बताउनुभयो । 

अहिले कृषि सामग्री कम्पनी लिमिटेडका जिल्लामा रहेका तीन वटा शाखा कार्यालयबाट १० वटै स्थानीय तहमा कोटा अनुसार सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । शाखा कार्यालय प्रमुख गौतमका अनुसार घोराही शाखामा युरिया एक हजार ४४५.१ मेट्रिक टन, डिएपी ४०१.१५० मेट्रिक टन र ६३.७७ मेट्रिक टन पोटास मौज्दात छ । 

त्यसै गरी तुलसीपुरमा युरिया ३७०.१ मेट्रिक टन, डिएपी ३०५.८५ मेट्रिक टन र २२.१ मेट्रिक टन पोटास मौज्दात छ । लमहीको शाखा कार्यालयमा युरिया १९६.३ मेट्रिक टन, डिएपी १४१.६ मेट्रिक टन र २९.६५ मेट्रिक टन पोटास मौज्दात रहेको कार्यालयले जानकारी दिएको छ । त्यसै गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको गोदाममा आठ हजार ८५५ बोरा युरिया, छ हजार आठ सय बोरा डिएपी र ८१४ बोरा पोटास मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीका लेखापाल शम्भु शाहले जानकारी दिनुभएको छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशतको दरले बाँडेर मल बिक्री गरिरहेका छन् ।