• ७ मंसिर २०८१, शुक्रबार

काबेली प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २१ गते । गत असोज १२ गतेको बाढीले क्षति पुर्‍याएको काबेली कोरिडोर प्रसारण लाइन पुनर्निर्माण सकिएको छ । इलामको माई खोलामा आएको बाढीले प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्‍याएको थियो । 

नेपाल विद्युत् प्राधिकरण र काबेली कोरिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाको संयुक्त प्रयासमा प्रसारण लाइन पुनर्निर्माण गरी सोमबार दिउँसोदेखि प्रसारण लाइन सञ्चालनमा ल्याइएको हो । निरन्तर मेहनतका साथ १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहन कार्कीले जानकारी दिनुभयो । 

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा रहेका आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन् । ती आयोजनाबाट १२ असोजदेखि विद्युत् उत्पादन बन्द थियो । प्राधिकरण र निजी क्षेत्रले संयुक्त नमुनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जालगायतका सामग्री उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागतलगायतका खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेको कार्कीले जानकारी दिनुभयो । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए । 

काबेली कोरिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको  खण्डको धोद्रेबेँसीमा चार वटा टावरलाई माई खोलाको बाढीले क्षति पुर्‍याएको थियो । 

चार वटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावर ढालेर पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । अहिले त्यहाँ नयाँ टावर खडा गरिएको छ ।  ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो ।