• ७ मंसिर २०८१, शुक्रबार

‘एक मुट्ठी बादल’ लाई पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २१ गते । निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुट्ठी बादल : माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फन्ड पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ । यस अन्तर्गत चलचित्रले ६० हजार युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । 

चलचित्रमा गौथली इन्टरटेनमेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सहनिर्माण रहेको छ । चलचित्रको निर्देशन सहारा शर्माले गर्नुभएको छ । विवाहको पृष्ठभूमिमा बुनिएको ‘एक मुट्ठी बादल’ ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्दछ । युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफूभित्र निसास्सी रहेको स्वतन्त्रताको चाहनाबिच उत्पन्न द्वन्द्वलाई चलचित्रले उजागर गर्दछ । गृहिणी हुनुका साथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, सङ्घर्ष र निःस्वार्थ योगदानलाई चलचित्रले कथामा समेटेको छ । 

चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी, भीमा मैनाली, अस्मिता गौतम आदि कलाकारको अभिनय रहेको छ । 

निर्देशक शर्माले चलचित्रले प्रतिष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “नेपाली नारीहरूका दुःख, सुख, त्याग, तपस्या, बलिदान र  क्षमता विश्वस्तरमा चिनाउने मेरो सधैँ प्रयत्न रहेको छ । यो पुरस्कारले त्यहीतर्फ चलेको हाम्रो यात्रालाई उडान भरेको छ ।” चलचित्र लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, बङ्गलादेशकोे ‘वेस्ट मिट्स इस्ट स्क्रिन प्ले’ लगायत छनोटमा परेको पनि निर्देशक शर्माले जानकारी दिनुभयो ।