• २१ मंसिर २०८१, शुक्रबार

गाई संरक्षणका लागि करोडको अक्षयकोष

blog

अक्षयकोषका लागि रकम प्रदान गर्नुहुँदै मनकामना आश्रम अध्यक्ष राजेन्द्र अधिकारी लगायत । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १७ गते । राष्ट्रिय जनावर गाईको संरक्षणको लागि तनहुँमा अक्षय कोष स्थापना गरिएको छ । व्यास नगरपालिका –१० दुम्सीस्थित गौ संरक्षण तथा सरसफाई व्यवस्थापन केन्द्रले दाताहरुबाट रकम सङ्कलन गरेर वेदव्यास गौ संरक्षण अक्षय कोष स्थापना गरेको हो । 

नेपालीको ठुलो पर्व तिहारको गाई तथा गोवर्धन पूजाको अवसरमा शनिबार केन्द्रले अक्षयकोषको घोषणा गरेको छ । पहिलो दिनमा नै दाताहरुबाट करिब एक लाख सङ्कलन भएको र एक करोड पुर्याउने लक्ष्य राखिएको केन्द्रका अध्यक्ष तथा व्यास नगरपालिका १० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । 

केन्द्रमा हाल एकसय सात वटा गाई रहेको र गाईहरुको सङ्ख्या बढ्दै गइरहेकाले राम्रोसँग पालन पोषण गर्नुपर्ने भएकाले अक्षय कोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । गाई संरक्षणका लागि व्यास नगरपालिकाले  गौरवको योजनामा समावेश गरेको छ । संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।   

गाई संरक्षण गर्ने र सहर बजार तथा बालीनाली भएका जग्गामा छोडिएका छोडुवा गाईको उचित व्यवस्थापन गर्न गौ संरक्षण केन्द्र सञ्चालन गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । गाईलाई हिन्दु धर्मअनुसार पुज्ने गरिएकोमा हाल मानिस व्यवसायिक बन्दै जाँदा रैथाने गाइले दुध कम दिने हुँदा हेला भएकाले संरक्षण गरिएको व्यास नगरपालिका प्रमुख न्यौपानेले जानकारी दिनुभयो । 

नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘नगरपालिकाबाट गाईको संरक्षणको लागि तीन जना कर्मचारीलाई तलबको व्यवस्था गर्नुका साथै आहाराको लागि वार्षिक पाँच लाखदेखि १० लाख छुट्याउने गरेका छौं ।’ 

व्यास नगरपालिकाका प्रमुख न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ न्यौपाने, व्यास नगरपालिका १० वडाध्यक्ष खेमराज पोखरेल, कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले, वेदानुयायी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष पण्डित कृष्णकान्त काफ्लेलगायतले सुझाव दिनुभएको थियो ।