• १८ पुस २०८१, बिहिबार

अस्पताल सञ्चालन गर्न महायज्ञ हुँदै

blog

निर्माणको काम सम्पन्न भएको अस्पताल भवन ।

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १६ गते । झापासँग सीमा जोडिएको ईलामको चुलाचुली गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन बनेको दूई वर्ष भइसकेको छ । बजेट अभावमा अस्पताल सञ्चालन हुन नसकेपछि आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान महायज्ञ लगाउने तयारी गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार वि.स. २०७७/७८ देखि निर्माण शुरु भई गत आर्थिक बर्षमा अस्पतालको भौतिक पूर्वाधार निर्माणले पूर्णता पाएको भए पनि अस्पताल सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चितता नहुँदा अस्पताल सञ्चालन भएको छैन ।  

चुलाचुली गाउँपालिका वडा नं २ बाह्रगोठेमा अस्पतालका लागि सुविधायुक्त आधुनिक भवन निर्माण भइसकेको छ । महायज्ञबाट संकलित रकमबाट अस्पताल सञ्चालका लागि बेग्लै दिगो अक्षयकोष बनाउने लक्ष्य रहेको केरुङले बताउनुभयो । कात्तिक २६ देखि मसिंर ३ गतेसम्म यो महायज्ञ आयोजना हुँदैछ ।

स्थानीय सबैको सल्लाह र सुझावअनुसार दिगो स्रोतको सुनिश्चितताका लागि अक्षयकोष बनाउने उद्देश्य समेत राखेर बहुधार्मिक प्रवचनसहितको श्रीमद भागवत ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो । 

चर्चित धार्मिक प्रवचक राधिका दासी र ओमनन्द तथा लामा गुरुहरु लगायतबाट धार्मिक प्रवचन हुने महायज्ञ मूल आयोजक समितिका सचिव विवश बलिभद्र कोइरालाले बताउनुभयो ।