• १९ पुस २०८१, शुक्रबार

पूर्वी नेपाल तिहारको रोनक

blog

तिहारको झिलिमिलि । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, कात्तिक १५ गते ।
पूर्वी नेपालका गाउँ, सहर, चोकचोक र बस्तीबस्तीहरुमा तिहारले झपक्कै छोपिसकेको छ । झिलिमिली बत्ती र दियोको उज्यालोले गाउँ, सहर, चोकचोक र बस्तीबस्तीहरु सिँगारिएका छन् । तिहार सबैको घरआगनमा भित्रि सकेको छ ।

दसैँपछिको दोस्रा ठुलो चाडको रुपमा मानिने तिहार कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारदेखि सुरु भई कात्तिक शुक्ल पक्षको द्वितीय तिथि भाइटीकासम्म मनाइन्छ । यो चाड पाँच दिनसम्म मनाइन हुँदा यमपञ्चक पनि भन्ने चलन रहिआएको छ ।

सूर्यका छोरा यमराज आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी पाँच दिनसम्म यमुनाकहाँ आई बसेको र यमुनाले उनको सेवा र पूजा गरेको हिन्दु शास्त्रमा उल्लेख छ ।

काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवद्र्धन पूजा, भाइटिका गरी यी पाँच दिन यमराज आफ्नी बहिनीको घरमा गई रमाइलो मनाएको हुँदा यमपञ्चक भनिएको पौराणिक मान्यता रहेको छ ।

दिपावली, दिवालीलगायत नामले चिनिने तिहार शब्द त्यौहार शब्दको अपभ्रंशित रुप मानिन्छ । तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु–गोवर्धन र भाइपूजा गरिन्छ ।

तिहारको पहिलो दिन काग तिहार हुन्छ । यमराजको दुत सन्देशवाहक कागलाई फूल अक्षताले पूजा गरी कागका लागि मिठाई तथा विभिन्न परिकार दुना टपरीमा राखी काग तिहार मनाउने चलन छ ।

यमपञ्चकको दोस्रो दिन कुकुर तिहार पर्छ । नरकका राजा यमराजको दूत प्राणी कुकुरलाई फूल, अक्षता र माला लगाई मिष्ठान्न भोजन खान दिएर यो पव मनाइने चलन रहीआएको छ । यस दिनलाई नरक चतुदर्शी पनि भन्ने गरिन्छ ।

तिहारको तेस्रो दिन कात्तिक कृष्ण अमावश्या अर्थात् औँसीको दिन गाई पूजा र लक्ष्मी पूजा गरिन्छ । गाईलाई आमाको रुपमा मान्दै तेस्रो दिन गाईको पूजा गरिन्छ । यस दिनको राति धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घर आँगन सफसुग्घर पारी सयपत्री माला र झिलिमिलीकागज, बत्तीले घर सजाएर विभिन्न पूजा सामग्री र श्रीङ्गारका सामग्रीलगायत मिष्ठान्न भोजन, सेलरोटी चढाई लक्ष्मीपूजा धुमधामसाथ मनाउने चलन रही आएको छ । लक्ष्मी पूजाछि भैलो खेल्ने प्रचलनसमेत रहिआएको छ ।

तिहारको चौथो दिन कात्तिक शुक्ल प्रतिपदाको दिन भूमिको रुपमा गोरुलाई पूजा गरिन्छ । पृथ्वी जोत्ने, बाली लगाउने प्राणी गोरुलाई पूजा गरी पिठो, चामलबाट बनेका मिठो खानेकुरा खान दिने चलन छ । यसै दिन प्रकृतिप्रति कृतज्ञ हुँदै गोवद्र्धन पूजासमेत गरिन्छ । यस दिन देउसी खेलेर मनोरञ्जन पनि गरिन्छ । 

यमपञ्चकको पाँचौ दिन कात्तिक शुक्ल पक्षको द्वितीय तिथिका दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गरी सप्तरङ्गी टिका, सयपत्री फूल, मखमली फूलको माला लगाई हर्षाेल्लासका साथ भाइटिका मनाइन्छ । धनकी देवी लक्ष्मीले यमपञ्चकको पाँचौ दिन अर्थात् कात्तिक शुक्ल द्वितीयको दिन दाजुको लामो आयु र स्वास्थ्य दीर्घायुको कामना गर्दै यमराजले पनि सघार काटेर दाजुलाई क्षति पुराउन नसकोस् भनी सघारमा ओखर फुटाई तेलले छेकेर पूजा गरी टीका लगाइदिएको कथन छ । त्यसै बेलादेखि दिदी बहिनीहरुले आफ्ना दाजुभाइहरु टीका लगाइदिने परम्परा बसेको पाइन्छ ।

आफ्ना दाजुभाइलाई शत्रुले दुःख दिन नसकुन् भनेर दिदीबहिनीले ढोकामा ओखर फुटाई बाहिर फालेर कहिल्यै नसुक्ने तेल र दुबोले छेकी नओइल्याउने मखमली फूल र सयपत्रीको माला लगाइदिएर दाजुभाइको लामो आयुको कामना गदै तिहार पर्व मनाउने प्रचलन बसेको पाइन्छ । सोहि अवसरमा बली राजाले सबै प्रजाहरुलाई खुसीयाली मनाउन छिमेकीको घरघरमा गई लक्ष्मी पुजाको दिन छोरी मान्छेले भैलो खेल्ने र छोरा मान्छेले देउसीरे खेल्ने चलनको सुरुवात गरेको धार्मिक ग्रन्थहरुमा पाइन्छ ।