• ७ पुस २०८१, आइतबार

साफ महिला च्याम्पियनसिप

दुई चक्माको गोलमा नेपाल फेरि स्तब्ध

blog

उपाधिसहित बङ्गलादेश टोली ।

काठमाडौँ, कात्तिक १४ गते । छैटौँ पटक साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाएको नेपाल यसपटक पनि उपविजेतामै सिमिति बनेको छ ।

नेपाली महिला फुटबलको इतिहासमै घरेलु मैदान दशरथ रङ्गशालामा १५ हजार चारसय संख्यामा दर्शकको सर्मथन पाएको नेपाल बुधबार भएको फाइनलमा बङ्गलादेशसँग २-१ गोलले पराजित भयो । 

उपाधि रक्षा गरेको बङ्गलादेशको जितमा मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गर्नुभयो । नेपालका लागि अमिशा कार्कीको गोल सान्त्वना बन्यो ।

बङ्गलादेशले लगातार दोस्रो पटक फाइनलमा नेपाललाई हराउँदै उपाधि रक्षा गरेको हो । सन् २०२२ को अघिल्लो संस्करणमा पनि नेपाल बङ्गलादेशसँग घरेलु मैदानमै फाइनलमा ३-१ गोलले पराजित भएको थियो । 

सन् २०१० देखि सुरु भएको साफ महिला च्याम्पियनसिपले सातौँ संस्करण पूरा गर्दा नेपाल चौथो संस्करणबाहेक सबैमा फाइनल पुगेको छ । नेपालले यसअघि फाइनलमा सन् २०१०, २०१२, २०१४ र २०१९ भारतसँग हार खेपेको थियो ।

समग्रमा १२औँ पटक अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पुगेको नेपाल हरेक संस्करणमा स्तब्ध बन्दै आएको छ । यसपटक तनावपूर्ण सेमिफाइनलमा पाँच पटकको च्याम्पियन भारतलाई टाइब्रेकरमा ४-२ गोलले पन्छाएपछि नेपालले उपाधि जित्ने ठूलो आशा राखेको थियो । तर नेपालको हर प्रयासमा बङ्गलादेश पुन: बाधक बन्यो । 

रोमाञ्चक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टोलीको एक एक वटा शसक्त प्रहार पोलमा लागेर फर्किएको थियो । 

त्यसपछि दोस्रो हाफको सुरुवातमै बङ्गलादेशले अग्रता बनायो । ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । बङ्गलादेशले डिबक्सभित्र नेपालको रक्षापंक्तिको कमजोरीमा गोल गरेको थियो ।

बङ्गलादेशको अग्रतापछि आक्रामक बनेको नेपालले चारमिनेट लगत्यै बराबरी गोल फर्कायो । नेपालका लागि अमिशा कार्कीले ५६औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । उहाँले प्रिति राईले दिएको पासमा उत्कृष्ट गोल गर्दै नेपालको खुशी फर्काउनुभएको थियो ।

तर, ८१औँ मिनेटमा बङ्गलादेशकी रितु चक्माले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहार सोझै गोलमा परिणत भयो । चक्माको शसक्त प्रहारलाई नेपालकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाउन नसकेपछि नेपाल फेरि उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो । 

यसअघि राम्रो खेल्दै गोल समेत गर्नुभएकी अमिशा कार्कीलाई ७५औँ मिनेटमा बाहिर निकाल्दै अनिता बस्नेतलाई मैदान छिराएपछि नेपाल थप कमजोर बनेको थियो । 

भारतसँगको खेलमा रातो कार्ड पाउनुभएकी नेपालकी रोजाईको स्ट्राइकर रेखा पौडेलको अभाव नेपाललाई फाइनलमा खड्किएको थियो । खेलभर एक मात्र स्ट्राईकर सावित्रा भण्डारी (साम्बा) को भरमा भिडेको नेपालले दोस्रो हाफमा जितको रणनिति तयार गर्न सकेन । 

हारसँगै नेपाली प्रशिक्षकको राजीनामा 

खेलपछि नेपालका प्रशिक्षक राजेन्द्र तामाङले राम्रो खेलेपनि उपाधि जित्न नसकेको बताउनुभयो । ‘‘कर्नरबाट आएको एउटै गोलले हार भयो । दोस्रो हाफमा परिवर्तन गरेका खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । अमिशालाई परिवर्तन गर्नु गल्ती भयो । साम्बालाई बङ्गलादेशका खेलाडीले मार्क गर्दा गाह्रो भयो । विल्पको स्ट्राइकर रेखा घाइते हुँदा समस्या भो,’’ उहाँले भन्नुभयो ।

महिला फुटबलमा उपाधि जित्न एन्फाले ग्रासरुट स्तरबाट विकास गर्नुपर्ने र १५/२० दिनको तयारीले उपाधि जित्न गाह्रो हुने उहाँको भनाई थियो । 

छोटो तयारी र प्लानले उपाधि जित्न नसकेको भन्दै उहाँले प्रशिक्षक पदबाट राजीनामा दिएको समेत घोषणा गर्नुभयो । मलाई राष्ट्रिय टोली हेर्ने रहर पुग्यो । नयाँ र जिताउन सक्ने प्रशिक्षकलाई मौका दिन चाहन्छु । म फेरि क्लब फुटबलमा काम गर्न फर्कन्छु । पुरुष टोली पाएपनि जान्न,’’ उहाँले भन्नुभयो । 

बङ्गलादेशमा महिला खेलाडी बढ्छ : कप्तान खातुन

जितपछि बङ्गलादेशकी कप्तान सविना खातुनले उपाधि रक्षाले बङ्गलादेशमा महिला खेलाडीको आगमन बढ्ने बताउनुभयो ।

‘‘बङ्गलादेशको महिला फुटबल बिस्तारै राम्रो भएको छ । आज नेपालले टप खेलेको थियो । अघिल्लो संस्करणमा भन्दा नेपाल धेरै बलियो रह्यो । मैदानमा कडा प्रतिस्पर्धाबिच गोलमा हामी माथि रह्यौँ । लगातार जितले हामीलाई उत्साहित बनाएको छ । यसले नयाँ पिढीका खेलाडीलाई फुटबलमा आउन ढोका खुलेको छ । हजारौँ दर्शकको बिचमा घरेलु टोलीलाई हराउन बास्तवमै चुनौती थियो । त्यो पुन: पार गरेका छौँ । हामी अझै राम्रो गर्दै जानेछौँ,’’ खातुनले भन्नुभयो । 

३० वर्षीय खातुन सन् २०१० देखि बङ्गलादेश महिला टोलीमा निरन्तर खेल्दै आउनुभएको अनुभवी खेलाडी हुनुहुन्छ । 

भुटानलाई फेयर प्ले अवार्ड 

च्याम्पियनसिपमा भुटानले फेयर प्ले अवार्ड पाएको छ । खेलभर आठ गोल गर्नुभएकी भुटानकै देकी लाजोम सर्वाधिक गोलकर्ता बन्नुभयो ।

उत्कृष्ट गोलरक्षक बङ्गलादेशकी रुपमा चक्मा बन्नुभयो । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार फाइनल खेलमा निर्णायक गोल गर्नुभएकी बङ्गलादेशकी रितु पोर्ना चक्मालाई प्रदान गरियो । 

विजेता टोली र खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।