• ९ कात्तिक २०८२, आइतबार

भुरुङ तातोपानी कुण्डमा पर्यटकको भीड (फोटो फिचर)

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक ९ गते । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक छेउमा रहेको भुरुङ तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको भीड लागेको छ । बेनी हुँदै अन्नपूर्ण आधार शिविर,घोडेपानी र मुस्ताङ भ्रमण गर्ने पर्यटकको सख्यामा वृद्धि भएसँगै अन्नपूर्ण गाउँपालिका, २ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको भीड लागेको हो । पर्यटकका कारण तातोपानी कुण्ड आजकल दिनभर जसो भीडभाड हुने गरेको छ ।  

मुस्ताङका साथै उच्च हिमाली भेगमा रहेका म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरेर फर्किएका पर्यटकहरु तातोपानी कुण्डामा डुबेर स्नान गर्ने गरेको कुण्डका सञ्चालक जीतेन्द्र चोचाङ्गीले बताउनुभयो ।

 उहाँका अनुसार बिहान र बेलुका स्नान गर्ने पर्यटकका कारण कुण्ड भरिभराउ हुन्छ । दैनिक रुपमा एकहजार दुईदेखि एकहजार पाँचसय सम्मले कुण्डमा स्नान गर्ने गरेको उहाँले बताउनुभयो । 

 तातोपानी कुण्ड पछिल्ला केही वर्ष यता हिमाली क्षेत्रको यात्रापछि चिसो फाल्ने र थकान मेटाउने स्थलका रुपमा विकास भएको छ । बिहान ६ बजेदेखि बेलुका दश बजेसम्म नै कुण्ड पर्यटकले भरिभराउ हुन्छ । 

दशैं–तिहार र छठ पर्व बिदाको अवसर पारेर म्याग्दी र मुस्ताङ भ्रमणका लागि आएका पर्यटकहरु तातोपानी कुण्डमा रमाइलो मानेर स्नान गरिरहेका छन् । प्राकृतिक रुपमा नै यहाँ मूलबाट तातोपानी आउँछ । 

दशैं पछिका दिनहरुमा मुस्ताङ भ्रमण जाने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले तातोपानीमा पर्यटकको चाप बढेको तातोपानी कुण्ड सञ्चालक चोचाङ्गीले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘‘ पछिल्लो पटक पर्यटकीय गन्तब्यका रुपमा विकास भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र अपर मुस्ताङसम्म पुगेर फर्किएका पर्यटकहरु चिसो फाल्न र यात्राको थकान मेटाउन तातोपानी कुण्डमा स्नान गर्न आउने गरेका छन् ।’’ कुण्डमा स्नान गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै तातोपानी बजारमा रहेका होटलहरु समेत भरिभराउ भएपछि व्यवसायीहरु उत्साहित भएका छन् । 

तातोपानीको कुण्ड नजिकै कपडा फेर्ने ठाउँ, धारा,सार्वजनिक शौचालयलाई व्यवस्थित बनाएको छ । तातोपानीमा स्नान गर्न आएका पर्यटकको सुविधाका लागि कुण्ड परिसरमा क्यान्टिनसमेत सञ्चालन गरिएको छ । 

कालीगण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ४५ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गर्ने व्यवस्था मिलाइएको कुण्ड सञ्चालक चोचाङ्गीले बताउनुभयो । 

मुस्ताङ भ्रमणमा आएका पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा आएका पर्यटक तातोपानी झरेर स्नान गर्दछन् । कुण्डमा स्नानका लागि स्वदेशीलाई  ५० र विदेशीलाई  एक सय ५० रुपियाँ शुल्क तोकिएको छ । कुण्डमा प्रवेश शुल्क र क्यान्टिन सञ्चालन गर्न गाउँपालिकासँग चालु आर्थिक वर्षमा करिब ५५ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर नारच्याङका स्थानीय चारजना युवाहरु मिलेर कुण्ड सञ्चालन गरेको चोचाङ्गीले जानकारी दिनुभयो । 

पर्यटकको सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । एक दिनमा पाँच सयभन्दा बढी वास बस्न सक्ने क्षमता छ । तिहारपछि पर्यटकको आगमन बढेपछि सबै होटलहरु प्याक भएको होटल नेचुरल स्प्रिङका सञ्चालक राजु हमालले जानकारी दिनुभयो ।

 भुरुङ तातोपानीमा बास बस्ने आधाभन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर जाने र मुस्ताङबाट फर्किएकाहरु रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पर्यटकहरु भुरुङ तातोपानीबाट जिप चढेर नारच्याङको हुमखोला सम्म पुग्ने र त्यहाँबाट पदयात्रा सुरु गर्ने उहाँले बताउनुभयो ।