• १२ पुस २०८१, शुक्रबार

नेपाल–भारत सिमामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ : सदस्य गौतम

blog

राष्ट्रिय सभा सदस्य वामदेव गौतम राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्नुहुँदै  उहाँले यस्तो बताउनुभएको हो ।

सदस्य गौतमले नेपाल–भारत खुला सिमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरु भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सीमानामा पर्खाल लगाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्नुहुँदै सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर काम गरिरहेका आरोप लगाउनुभयो । उहाँले खुला सिमाना बन्द गर्दै भिसा प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल र भारतका बिचमा सिमाना खुल्ला छ । हाम्रो देशका ठूल्ठूला पार्टीहरु ५०-६० वर्षदेखि बन्द सिमाना कायम गर भन्दै आएका छन् । नेपालमा उत्पादन भएको वस्तु भन्सार नतिरिकन खुला सिमानाबाट भारततिर गएको छ । भन्सारबाट मात्रै जाने व्यवस्था गरौँ । पर्खाल लगाऔँ । नेपाल–भारतको बिचमा तार लगाऔँ । खुला सिमाना बन्द गर । मेरो आजको प्रस्ताव यही हुन्छ । नेपाल–भारत सिमाना बन्द गर । भिसा प्रणाली लागू गर ।’’

राष्ट्रिय सभा सदस्य गौतमले मानिसको आवतजावत पनि तोकिएको भन्सार नाकाबाट मात्रै हुनुपर्ने बताउनुभयो । खुला सीमानाका कारण भारतबाट नेपालमा पसेर व्यक्ति हत्या समेत हुने गरेको भन्दै स्वतन्त्र देशको अवस्था यस्तो हुनु नहुने बताउनुभयो ।