• २७ पुस २०८१, शनिबार

अनुदानले बढायो फूलखेतीमा कृषकको आकर्षण

blog

कालीगण्डकी गाउँपालिका–३ का कृषक रेमन सिंह सोमईले उत्पादन गर्नुभएको फूलबाट तिहारको लागि बजार पठाउन माला बनाइँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, कात्तिक १४ गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलमा आत्मनिर्भर अभियान चलाउँदै आएको छ । फूलको आयात घटाउँदै जिल्लालाई नै आत्मनिर्भर बनाउन गाउँपालिकाले दीर्घकालीन योजना अनुसार काम गरिरहेको हो । 

सार्वजनिक तथा बाँझो जग्गामा आफैँले फूल लगाउँदै आएको पालिकाले कृषकहरूलाई अनुदान उपलब्ध गराएर फूल खेतीमा आकर्षित गरेको छ । पालिकाले व्यावसायिक ड्रागन खेतीसँगै फूल खेती गर्दै आएको हो । 

पछिल्लो समय भने सयपत्री फूलखेतीमा पालिकाका कृषकहरू आकर्षित भएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । लगानीको आधारमा ५० प्रतिशत सम्म अनुदान दिए पछि कृषकहरू व्यावसायिक फूलखेती तर्फ आकर्षित भएको उहाँको भनाइ छ । 

पालिकाका ३ विद्यालय र १७ जना कृषकले व्यावसायिक सयपत्री फूल खेती गर्दै आएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत पालिकाको अनुदान सहयोगमा ध्रुवज्योती मावि,देउराली मावि र मिर्मी आधारभूत विद्यालयमा फूलखेती गरिएको छ । गएको आर्थिक वर्षमा सयपत्री फूल खेतीबाट मात्रै गाउँपालिकामा ३० लाख भित्रिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “गएको वर्ष क्षेत्रका आधारमा ५० प्रतिशत अनुदान दिएको थियौँ, यो वर्ष उत्पादनका आधारमा अनुदान दिने तयारी छ ।” उत्पादनमा आधारित अनुदानले उत्पादन बढ्ने उहाँको भनाइ छ । 

जिल्लामा बाहिरबाट सयपत्री फूल आयात गर्न नपरोस् भनेर आफूहरू सक्रिय रहेको थापाले जानकारी दिनुभयो । पालिकाको अनुदानले व्यावसायिक फूल खेतीमा आफू आकर्षित भएको वडा नं. ३ का कृषक रेमन सिंह सोमईले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले लगाउने समयबाट नै प्राविधिक सहयोग गर्दै आएको छ, अब उत्पादन भएपछि बजारीकरणको लागि पनि सहयोग गर्छ ।” बजारको चिन्ता नभएपछि आफूहरूको ध्यान उत्पादन बढाउनतर्फ मात्रै भएको उहाँको भनाइ छ । उहाँले चार रोपनी भन्दा धेरै क्षेत्रमा समयपत्री फूल लगाउनु भएको छ । 

पालिकाको ४० रोपनी भन्दा धेरै क्षेत्रमा व्यावसायिक रूपमा नै फूल खेती हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिनुभयो । पालिकाले उत्पादन बढाउने रणनीति अनुसार प्रोत्साहनका लागि विभिन्न कार्यक्रम सञ्चलन गरेको उहाँले बताउनुभयो । 

फूलखेतीका लागि पालिकाले विभिन्न वडामा पकेट क्षेत्र तोकेको छ । वडा नं.१ को धरादी,२ को लसर्घा,३ को देउराली,५ को बाँसटारी,टाप र लिहाग ६ को कुणादी र ईसमिल,७ को बारिचौर लगायतका ठाउँमा व्यावसायिक फूल खेती हुँदै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख अनुप पौडेलले जानकारी दिनुभयो । 

फूल जिल्लाका कालीगण्डकी बाहेकका ११ वटै पालिकाबाट हुने गरेको पौडेलले बताउनु भयो । पोखरा,काठमाडाैँ,बुटवल लगायतका ठाउँबाट फूलको माग आउने गरेको छ यस्तै जिल्लामा हुने अधिकांश मेला महोत्सवमा कालीगण्डकी कै फूल प्रयोग हुने गरेको प्रमुख पौडेलले बताउनुभयो । 

यो वर्षको फूलको माग सङ्कलन गरिएको र फूल टिप्ने तथा माला गाँस्ने काम सुरु भइसकेको उहाँको भनाइ छ । पालिकाले हेफर प्रोजेक्टसँग मिलेर बजारीकरणको काम गरिरहेको पौडेलले बताउनुभयो ।