• १९ पुस २०८१, शुक्रबार

फुङ्फुङे झरना पर्यटन मेला हुने

blog

पत्रकार सम्मेलनमार्फत् फुङ्फुङगे झरना पर्यटन मेलाबारे जानकारी गराइँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १४ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङे झरना पर्यटन मेला आयोजना गरिने भएको छ । खेलकुदलगायत विभिन्न गतिविधिसहित आउँदो मङ्सिर ७ देखि १० गतेसम्म साँवाको तेम्बामा पर्यटन मेला आयोजना गर्न लागिएको हो ।

फुङ्फुङे झरना पर्यटन विकास समितिको आयोजनामा मेलाको तयारी गरिएको हो । सदरमुकाम फुङ्लिङमा बुधबार पत्रकार सम्मेलन गरी पर्यटन मेला आयोजना गरिएको बारे समितिले जानकारी गराएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा फुङ्फुङे झरनासहित यस क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । 

समितिका अध्यक्ष विजय साँवाका अनुसार पर्यटन मेलाको मुख्य आकर्षणका रुपमा पुरुष तथा महिला खुला फुटबल प्रतियोगिता राखिएको छ । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा राखेर मेलामा फुटबल प्रतियोगिता समावेश गरिएको समिति अध्यक्ष साँवाले बताउनुभयो । उहाँका अनुसार वडा तथा क्लबस्तरीय प्रतियोगिताका विजेता र उपविजेताले पुरुषतर्फ क्रमशः एक लाख ११ हजार १११ र ६१ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । 

त्यस्तै महिलातर्फ विजेताले ५५ हजार १११ रुपियाँ, उपविजेताले ३१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष सुकबहादुर साँवाले बताउनुभयो । मेलामा सांस्कृतिक कार्यक्रम लगायतका गतिविधिसमेत सञ्चालन हुने समितिले जनाएको छ । मेलाका लागि २५ देखि २८ लाख रुपियाँसम्म खर्च हुने अनुमान गरिएको पनि कोषाध्यक्ष साँवाले जानकारी दिनुभयो । 

यता गाउँपालिका अध्यक्ष कार्कीले मेलालाई भव्यरुपमा सम्पन्न गर्नका लागि सबैसँग आग्रह गर्नुभएको छ । मेला तथा खेलकुदका माध्यममार्फत पर्यटकीय स्थलको प्रचारप्रसार भई गाउँपालिकासँगै सिङ्गो जिल्लाको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पुग्ने बताउँदै उहाँले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको छ । 

विगत २०४५ सालमा फुङ्फुङे युवा मेलाका नाममा झरना स्थलमा मेला लाग्न सुरु भएको थियो । मेलाले २०५२ सालसम्म निरन्तरता पाएर माओवादी द्वन्द्वपछि बन्द भएको समितिका अध्यक्ष साँवाले बताउनुभयो । उहाँका अनुसार सोही मेलाको निरन्तरतास्वरुप करिव २९ वर्षपछि फुङ्फुङे झरना पर्यटन मेला नाम दिएर आयोजना गर्न लागिएको हो। अब मेलालाई निरन्तरता दिने समितिको योजना रहेको उहाँको भनाइ छ ।