गणेश खनाल
अर्घाखाँची, कात्तिक १४ गते । जङ्गबहादुर राणाको न्वारन भएको बल्कोटको पौवा ओझेलमा परेको छ । पर्यटकीय सम्भावना, लामो इतिहास बोकेको ऐतिहासिक पौवाको पर्याप्त प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालीन कर्णेल सनदसिंह टन्डनको नेतृत्वमा अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवाभित्र शिवालय मठ, तथा अन्य मन्दिरसमेत रहेका छन् । विसं १९०४ सालमा निर्माण गर्न सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिर निर्माण गरिएको थियो ।
जङ्गबहादुरका बुवा बालनरसिंह राणा आर्मी अफिसर हुनुहुन्थ्यो । उहाँ बारुदखाना प्युठानको प्रमुख हुनुहुन्थ्यो । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइएको थियो । जुम्लामा उहाँ श्रीमतीलाई लिएर जानुभएको थियो । जुम्लामै रहँदा उहाँकी श्रीमती गर्भवती हुनुभयो । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो ।
जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वाङ्लामा रहेको लाम्पाटी अर्थात् मथुरामा १८७४ सालमा जङ्गबहादुरको जन्म भयो । त्यसबेला लाम्पाटीमा घनघोर जङ्गल रहेकाले नजिकैका पाण्डे थरका कृषकले उहाँको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगी सुत्केरी र बच्चालाई राखिएको थियो । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणले न्वारन गराएर त्यो बालकको नाम वीरनरसिंह राखेको संस्कृतिमा रुचि राख्ने स्थानीय गिरिधारी पोख्रेलले बताउनुभयो । सुत्केरी दरिली भएपछि जङ्गबहादुरकी आमा माइती गोर्खा जानुभएको थियो । पछि वीरनरसिंह जङ्गे स्वभावको भएको हुनाले उहाँको नाम जङ्गबहादुर रहेको उहाँको भनाइ छ ।
जङ्गबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाडौँको थापाथलीमा भएको भन्ने गरेका छन् । उहाँ लाम्पाटीमा जन्मिनुभएको थियो । त्यसैले जन्मका बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारको भनाइ रहेको छ ।
इतिहासकार प्राध्यापक दिनेशराज पन्त र युवराजशमशेर जबराले जङ्गबहादुर लाम्पाटीमा जन्मिएको र बल्कोटको पौवामा आएर न्वारन भएको र पछि त्यसै स्थानमा कर्णेल सनदसिंह टन्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेको गाउँपालिकाका उपाध्यक्ष मनि पन्थी शर्माले बताउनुभयो ।
पौवाका विषयमा तत्कालीन राजा सुरेन्द्र शाहको पालामा चार वटा लालमोहर लागेका थिए । ती लालमोहर तथा इतिहासकारहरू प्रोफेसर पन्त र जबराको विश्लेषणलाई आधार बनाएर अर्घाखाँची सम्पर्क सदनको चिनारी, २०७२ मा समावेश गरिएको उहाँले बताउनुभयो । आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माणका लागि जङ्गबहादुर आफैँले कर्णेल सनदसिंहलाई लगाउनुभएको थियो ।
पौवा तथा मन्दिर निर्माण गरिसकेपछि सञ्चालनका लागि सयौँ बिघा जमिन गुठीमा समेत रहेको छ । केही समयअघिसम्म पौवामा रहेको मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहानबेलुका बाजा बजाउनेको समेत व्यवस्था थियो । अहिले पूजाआजा भइरहे पनि दैनिक बाजा बजाउने कार्य भने हटेको छ ।
कर्णेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, रिडीको बगैँचा, पाल्पा अर्गलीको बगैँचा, जोर्तेको पौवा र बाटोमा रहेका गौमुखी धाराहरू निर्माण भएको सामाजिक संस्कृतिको अध्ययन गरिरहेका नारायण भट्टराईले बताउनुभयो ।
सन्धिखर्क–बल्कोट–तम्घास सडकको छेउमा पर्ने राणाकालीन इतिहास बोकेको पौवा सदरमुकाम सन्धिखर्कदेखि १८ किलोमिटरको दुरीमा पर्छ ।