• १२ कात्तिक २०८१, सोमबार

प्रहरीद्वारा अवैध कपडा नियन्त्रणमा

blog

प्रहरीले नियन्त्रणमा लिएको अवैध कपडा । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव
सप्तरी, कात्तिक १२ गते ।
 सप्तरीको बोदेबर्साइन नगरपालिका-५ शत्रुधन चौकस्थितबाट अवैध कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र–०३–०१ च ८०२५ नम्बरको गाडीमा रहेको अवैध कपडा र चालक खडक नगरपालिका ८ का २४ वर्षीय सनाबुल मियाँलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बोधेबर्साइनका प्रहरी सहायक निरीक्षक दीपेन्द्र पासवानले जानकारी दिनुभयो ।

उहाँको नेतृत्वको प्रहरी गस्ती टोलीले शङ्कास्पद गाडी चेकजाँच गर्ने क्रममा बिल बिना भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउँदै गरेको कपडा नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको कपडा र चालक मियाँलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय बुझाइएको जानकारी प्रहरी सहायक निरीक्षक पासवानले दिनुभयो ।

यसैगरी, प्रहरीले एक लाख ३० हजार रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ । गत शनिबार १० गते छिन्नमस्ता गाउँपालिका ३ सखडा टोलस्थित ४६ वर्षीया सुनिता देवी रजकको घरबाट नगद एक लाख ३० हजार चोरी गरी फरार रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका ४ बस्ने २३ वर्षीय देवेन्द्र मुखिया रहेका छन् । प्रहरी टोलीले मुखियालाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट ९९ हजार ८५५ रुपियाँ बरामद गरेको प्रहरीले जनाएको छ । मुखियामाथि चोरी मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।