चिकित्सा क्षेत्रमा प्रचलित यस रणनीतिक विधिले अहिलेसम्म पत्ता नलागेका वा जोखिम तत्वहरू पत्ता लगाउन मद्दत गर्दछ । यो व्यक्तिलक्षित वा समुदायलक्षित हुनसक्छ । विशेष लक्षण वा चिह्न देखा परिनसकेको अवस्थामै निश्चित रोग छ, छैन थाहा पाउन स्क्रिनिङ गरिन्छ ।
स्क्रिनिङको माध्यमबाट रोग वा स्वास्थ्य समस्याको स्थिति पत्ता लगाएर भविष्यमा रोग विकसित हुन नदिने हिसाबले रोकथामका उपाय बेलैमा अपनाउन वा व्यवस्थापनमा फरकपना ल्याउन सकिन्छ तर स्क्रिनिङ विधिले कतिपय रोग समयमै पत्ता लगाउन सहयोग गर्न सक्ने भए पनि यो सदैव सफल नहुन पनि सक्छ । कहिलेकाहीँ बढाइचढाई, गलत वा फरक नतिजा देखाउनु स्क्रिनिङका खराब पक्ष हुन् ।
स्क्रिनिङ गर्नका लागि कतिपय पूर्वाधार पूरा भएको हुनुपर्छ । स्क्रिनिङ गर्न लागेको रोग वा अवस्था स्वास्थ्य समस्याको दृष्टिले महत्वको हुनुपर्छ । निदान र उपचारको उपलब्धता हुनुपर्छ । उक्त समस्याले विकराल रूप लिने समय लामो खालको हुनुपर्छ । उक्त समस्याका लागि अन्य जाँच एवं परीक्षण उपलब्ध हुनुपर्छ । बहुसङ्ख्यक सेवाग्राहीलाई मान्य हुने खालको हुनुपर्छ । कस्तो खालको रोग वा समस्या हो अर्थात् रोगको प्रकृति थाहा भएको हुनुपर्छ । स्क्रिनिङपछि समस्या भेटिएको खण्डमा प्राथमिकताका आधारमा कसलाई पहिले उपचार सेवा दिने प्रष्ट नीति हुनुपर्छ । स्क्रिनिङ खर्चिलो वा महँगो हुनु हुँदैन । स्क्रिनिङ एक पटक होइन नियमित अन्तरालमा गरिरहने वा गर्न सक्ने खालको हुनुपर्छ ।
स्क्रिनिङ गर्न सकिने केही उदाहरण
पाठेघरको मुखको क्यान्सरका लागि प्याप स्मियर वा लिक्विड बेज्ड साइटोलोजीबाट पाठेघरको मुखको पानीको जाँच; स्तन क्यान्सरका लागि म्यामोग्राफी, आन्द्राको क्यान्सरका लागि कोलोनोस्कोपी तथा दिसामा रगतको उपस्थितिको परीक्षण, प्रोस्टेट क्यान्सरका लागि प्रोस्टेट स्पेसिफिक एन्टिजेन (पिएसए), क्षयरोगका लागि छाला जाँच, आँखामा मधुमेहको असरका लागि आँखाको पर्दाको जाँच, गर्भे शिशुमा शारीरिक विकलाङ्ग वा जन्मजात समस्याका लागि अल्फाफिटोप्रोटिन, रगत जाँच वा भिडियो एक्सरे र नवजात शिशुमा श्रवणका लागि श्रवणशक्ति परीक्षण ।