• २५ पुस २०८१, बिहिबार

राज्य संयन्त्रलाई बलियो बनाउनेगरी काम गर्दैछौं : मुख्यमन्त्री आचार्य

blog

प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कार्यक्रममा सम्बोधन गर्दै ।

गणेश खनाल

अर्घाखाँची, कात्तिक ८ गते । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका बढाएको बताउनुभएको छ ।

गर्गगोत्री आचार्य समाज कपिलवस्तुले बिहीवार आयोजना गरेको चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आफू नेतृत्वको सरकारले राज्यसंयन्त्रलाई बलियो बनाउनेगरी भूमिका बढाएको बताउनुभएको हो ।

राम्रो गर्न कोशिस गरिरहेको छु । किनकि यो विचको अवधिमा हाम्रा हरेक संयन्त्रहरु फितला बनेका छन् । संयन्त्रहरु विग्रिएका छन् । यसलाई सुधार्नको निम्ति, सच्याउनको निम्ति, सही मार्गमा ल्याउन धेरै मेहनत गर्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो, ‘कतिपय अवस्थामा विगतका निर्णयहरु उल्ट्याउँदै अहिले नयाँ योजनाका साथ प्रदेश सरकार अघि बढ्न थालेको छ ।’ 

यस्तै, मुख्यमन्त्री आचार्यले नागरिकको सुझावको आधारमा प्रदेश सरकारले भूमिका निर्वाह गरिरहेको बताउनुभयो । प्रदेश सरकारले नागरिक तहबाट आउने हरेक गुनासोहरु सुन्ने र त्यसअनुसार सुधारका काम गर्दैआएको स्पष्ट पार्नुभयो ।

‘कमजोरी हुन दिइने छैन् । तर, जानेर या नजानेर मेरा कहि कतै कमिकमजोरी देख्नुभयो भने पर्खेर होइन, तत्काल सच्याउन यहाँहरुको अवस्य पनि साथ सहयोग पाउने छु भन्ने विश्वास लिएको छु’ उहाँले भन्नुभयो, ‘समयमै सचेत बनाउने, टिकाटिप्पणी बारेमा सुसुचित गराउने जिम्मेवारी तपाईहरुको हुन जान्छ ।’ कार्यक्रममा समाजका जिल्ला अध्यक्ष चन्द्रकान्त आचार्यले मुख्यन्त्री चेतनारायण आचार्यलाई सम्मान गर्नुभयो ।