• २५ पुस २०८१, बिहिबार

ताप्लेजुङमा न्यायिक समितिका पदाधिकारी सङ्गठित

blog

जिल्ला न्यायिक समिति सञ्जालका पदाधिकारीलगायत।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ८ गते। ताप्लेजुङका स्थानीय तहअन्तर्गत रहेका न्यायिक समितिका पदाधिकारी सङ्गठित भएका छन्। जिल्लास्तरीय न्यायिक समिति सञ्जाल गठन गर्दै स्थानीय समितिका पदाधिकारी सङ्गठित भएका हुन्।

पहिलो जिल्ला भेला गर्दै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीले जिल्ला न्यायिक समिति सञ्जाल गठन गरेका हुन्। एकापसको अनुभव साटासाट गर्ने र समस्या भएमा समाधानको साझा रुपमा पहल गर्ने उद्देश्यसहित जिल्लास्तरीय सञ्जाल गठन गरेको समितिका पदाधिकारीको भनाइ छ।

सदरमुकाम फुङ्लिङमा बिहीबार भएको भेलाले फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालाई सञ्जालको संयोजक चयन गरेको छ। एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा फुङ्लिङ नगरपालिकाकी न्यायिक समिति संयोजक ओझा जिल्लास्तरीय सञ्जालको संयोजकमा सर्वसम्मत चयन हुनुभएको हो।

जिल्ला स्थानीय तहका उपाध्यक्ष तथा सम्बन्धित तहका न्यायिक समितिका संयोजकहरु जिल्लास्तरीय सञ्जालको सदस्य बन्नुभएको छ। जिल्ला न्यायिक समिति सञ्जालको सदस्य हुनेमा सिरिजङ्घा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार माबो लिम्बू रहनुभएको छ। यस्तै पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ, सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) सदस्यमा रहनुभएको छ।

आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङ, मेरिङ्देन गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङबाङ, फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बू पनि सदस्य हुनुभएको छ। त्यस्तै मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पा लामा र मैवाखोला गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू सञ्जालको सदस्य रहनुभएको छ।

पहिलो पटक जिल्लास्तरीय न्यायिक समिति सञ्जाल गठन भएकाले सञ्जालको कार्यविधि बनाएर सञ्जालको गतिविधि गर्दै जाने तयारी गरिएको छ। प्रत्येक स्थानीय तहमा पुगेर सञ्जालको बैठक बस्ने, स्थानीय तहका न्यायिक समितिले सम्पादन गर्दै आएको कामबारे जानकारी लिने र आवश्यक छलफल गर्नेजस्ता उद्देश्य राखेर कार्यविधि बनाइने संयोजक ओझाले जानकारी दिनुभयो।

यस्तै समितिहरुले झेल्नुपरेका समस्याहरु सञ्जालको साझा संयन्त्रमार्फत समाधान खोज्ने, एक अर्काबिचको अनुभव आदानप्रदान गर्नेजस्ता योजनासमेत कार्यविधिमा समावेश गरिने सञ्जालले जनाएको छ। जिल्लास्तरीय सञ्जालमार्फत स्थानीय तहका न्यायिक समितिको कार्यसम्पादनमा सहयोग पुग्ने फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको भनाइ छ।