राममणि दाहाल
हेटौँडा, कात्तिक ८ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी सडकखण्डमा सवारी दुर्घटनामा घाइते भएका बस चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको मनहरी गाउँपालिका ६ चौकीटोलस्थित सडकखण्डमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नं. को बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ख ३११९ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका बस चालक सर्लाही लालबन्दी नगरपालिका ९ का तिलक विकको बिहीबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५७ वर्षीय विकको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा बिहीबार मृत्यु भएको जनाएको छ ।
बस र ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३० जना घाइते भएका थिए । यस्तै, हेटौँडा उपमहानगरपालिका १६ स्थित शिवम् सिमेन्ट लि. कम्पनीभित्र उक्त कम्पनीमा कार्यरत एक भारतीय नागरिक लडेर घाइते हुनुभएको छ ।
मकवानपुर प्रहरीका अनुसार भारत राज्य बिहार गोपालगन्जका ४० वर्षीय सिकिन्दर माझी गएराति मेसिन मर्मत गर्ने क्रममा अचानक मेसिन माथिबाट आफैँ लडेर टाउको र दायाँ हातमा चोट लागि घाइते हुनुभएको हो । माझीको हाल सिएमसी चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको छ ।