• २५ पुस २०८१, बिहिबार

बजेट रकमान्तर हुँदैन : मुख्यमन्त्री कँडेल

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल। तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 

सल्यान, कात्तिक ८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले लिएका नीति कार्यक्रम बजेटमार्फत अभिव्यक्त हुने भएकाले यो वर्ष बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कर्णालीमा न्यून बजेट छ । त्यही पनि कार्यान्वयन नहुने समस्या भएकाले बजेट खर्च बढाउन कामलाई छिटो छरितो बनाउन मातहतका निकायलाई निर्देशन दिइएको छ ।’ 

नेपाल पत्रकार महासङ्घ सल्यानले खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले एउटा दलको सहकार्य हुँदा नीति बजेट ल्याएको र कार्यान्वयन गर्ने समयमा अर्को दलको सहकार्यमा सरकार सञ्चालन गरिरहेकाले बजेट खर्च हुँदैन कि भन्ने आशङ्का, चिन्ता नगर्न सबैलाई आग्रह गर्नुभयो । 

कर्णालीको विकासमा सत्तापक्ष र प्रतिपक्षी सबै दलको साझा बुझाइ रहेको भन्दै  विकासमा राजनीति नहुने उहाँले प्रष्ट पार्नुभयो । 

विकास योजना कार्यान्वयन निर्माण व्यवसायी मार्फत गरिने कानुनी प्रावधान भएकाले निर्माण व्यवसायीको जिम्मेवारी रहेकाले राजनीतिक दल र जनप्रतिनिधि आलोचित भएको भन्दै मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीले समयमै काम नगरेकाले प्रदेशका कतिपय योजना अलपत्र परेको बताउनुभयो । 

मुख्यमन्त्री कँडेलले विगतमा अनुदानका नाममा कृषि क्षेत्रमा बढी लगानी भएको तर उपलब्धि हुन नसकेको बताउँदै आगामी दिनमा त्यसो हुन नदिन गम्भीर बनेको बताउनु भयो ।  

सरकारका जुनसुकै संरचनाको पहिलो काम नागरिकप्रति जबाफदेही र जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्राकृतिक स्रोत र साधनले धनी प्रदेश भए पनि अभावको प्रदेश भनेर चिनिएकाले प्रदेश र पालिकाले आन्तरिक आम्दानीको स्रोत बढाउनुपर्ने बताउनुभयो ।