• १० कात्तिक २०८१, शनिबार

कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ भवन

blog

भवन उद्धघाटन गर्नुहुँदै महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक विनोदप्रकाश सिंह । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, कात्तिक ८ गते । कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतको नयाँ भवन उद्घाटन गरिएको छ । महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले नवनिर्मित भवनको उद्घाटन गर्दै अब कर्मचारीले उच्च मनोबलका साथ सेवा प्रवाह छिटोछरितो सम्पादन गर्ने बताउनुभएको हो । 

उहाँले नयाँ भवनबाट प्रभावकारी सेवा प्रवाह गरी कार्यसम्पादनमा अब्बल बन्न समेत आग्रह गर्नुभयो । 

जिल्ला प्रमुख कोष नियन्त्रक मदन मग्ररातीले तीन करोड ३१ लाख रुपियाँको लागतमा भवन निर्माण भएको जानकारी दिनुभयो । यसअघि सङ्घीय कोष तथा लेखा नियन्त्रक कार्यालयले साँघुरो तथा जीर्ण भवनबाट सेवा दिँदै आएको थियो । 

नयाँ भवन बनेसँगै सेवा प्रवाहमा सहज हुने उहाँको भनाइ छ । २०७९ असार २५ गते ठेक्का सम्झौता भई भवन निर्माणको काम अघि बढेको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०८० पुस ३० गतेसम्मका लागि निर्माण सम्पन्न अवधि राखिएको थियो । 

उक्त अवधिमा निर्माण सम्पन्न नहुँदा सात महिना म्याद थप गरेर भवन निर्माण गरिएको छ । २०८१ साउन २५ गतेसम्मका लागि म्याद थपिएको थियो । थप गरिएको मितिमा भवन निर्माण भएको हो ।