• १० कात्तिक २०८१, शनिबार

माल्दिभ्सको पोस्ट्मा भुटानको १३ गोल

blog

भुटानको महिला टोली । तस्बिर : एन्फा

काठमाडौँ, कात्तिक ८ गते । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा भुटानले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ । 

दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । पहिलो हाफमा ६ गोल गरेको भुटानले दोस्रो हाफमा सात गोल थपेको थियो । 

भुटानको जितमा डेकी ल्हाजोम एक्लैले पाँच गोल गर्नुभयो । पेमा छोदेन र डेकी याङदोनले दुई दुई तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले एक एक गोल थप्नुभयो । 

जितसँगै तीन खेलबाट सात अङ्क बनाएको भुटान शीर्षस्थानमा छ । एक खेल कम खेलेको नेपाल चार अङ्कसहित दोस्रो स्थानमा छ । नेपालले आजै समूहको अन्तिम खेल श्रीलङ्कासँग खेल्नेछ । तीन अङ्क बनाएको श्रीलङ्का तेस्रो स्थानमा छ । 

लगातार तेस्रो हार खेपेको माल्दिभ्स यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो । यसअघि नेपालले पनि माल्दिभ्सलाई ११–० गोलले हराएको थियो । 

नेपाल आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । आजै साँझ समूह ‘बी’ को अन्तिम खेलमा नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुनेछ ।