• २५ पुस २०८१, बिहिबार

सहकारीपीडित र रास्वपाको प्रदर्शनले जनजीवन प्रभावित

blog

सहकारीपीडितको प्रदर्शनले मुस्ताङमा भएको ट्राफिक जाम । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक ८ गते । 
पछिल्लो एक सातादेखिका निरन्तर प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ । सूर्यदर्शन सहकारीपीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताको प्रदर्शनले ठाउँ–ठाउँमा सडक अवरुद्ध र ट्राफिक जाम हुने गरेका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि बिहीबार कास्की अदालतमा लगिएको छ । भित्र म्याद थपको प्रक्रिया जारी रहँदा निषेधित क्षेत्र घोषणा भएकाले अदालत वरपर र जिल्ला प्रहरी कार्यालय कास्की आसपासको क्षेत्र सुनसान छ ।


यी क्षेत्रमा प्रहरीले सवारी आवागमन रोकेको छ । गएको आइतबार लामिछानेलाई म्याद थपका लागि लगिएको बेला सहिद चोकमा भएको प्रदर्शन हटाउन नसकेपछि प्रशासनले निषेधाज्ञा लगाएको थियो । कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशी दुवै गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक हुनुहुन्छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट तीन करोडभन्दा बढी रकम अवैधानिक रूपमा गएको देखिएको छ ।

लामिछाने पक्राउ परेपछि देशैभरबाट नेता, कार्यकर्ता पोखरा केन्द्रित गरी रास्वपाले प्रदर्शन जारी राखेको छ । आज वाइचोकमा १० बजेदेखि रास्वपाको प्रदर्शन जारी छ । सँगसँगै सूर्य दर्शनका पीडित बचतकर्ताले मुस्ताङचोकमा प्रदर्शन गरिरहेका छन् ।

एक अर्ब ३५ करोड रकम अपचलन भएको सूर्य दर्शनको मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ । संसदीय समितिले सिफारिसबमोजिम लामिछानेमाथि अनुसन्धान थालेको प्रहरीले आइतबार उहाँसँग बयान लिन सुरु गरेको थियो । बयान नसकिएकाले थप थुनामा राख्न म्याद थपका लागि जोशी र लामिछानेलाई अदालत लगिएको हो ।

दुवै पक्षको विरोध प्रदर्शनका कारण सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । सहिद चोकमा पानीको फोहोर हान्ने गाडीसमेत सडकमै राखिएको छ । मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशद्वार सहिद चोक र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएपछि सर्वसाधारण र पर्यटकसमेत हिँडेरै गन्तव्यतिर जान बाध्य भएका छन् ।