• १० कात्तिक २०८१, शनिबार

पोलियो उन्मूलन गर्ने अभियानमा संलग्न हुन स्वास्थ्यमन्त्रीको आग्रह

blog

काठमाडौँ, कात्तिक ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोलियो उन्मूलन गर्ने विश्वव्यापी अभियानमा संलग्न हुन अनुरोध गर्नुभएको छ । विश्व पोलियो दिवसको अवसरमा मन्त्री पौडेलले भिडियो सूचना जारी गर्दै यस्तो अनुरोध गर्नुभएको हो ।

मन्त्री पौडेलले पोलियो उन्मूलन गर्ने अभियानमा आफ्ना बालबालिकालाई एक वर्षको उमेरभित्र एक/एक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाएर संलग्न हुन आग्रह गर्नुभएको हो ।

सरकारले राष्ट्रिय खोप तालिकामा पोलियो खोप समावेश गरेर १४ र नौ महिनाको उमेरमा एक एक पटक लगाउने व्यवस्था गरेको छ ।

संसारबाट पोलियो रोग उन्मूलन नभएसम्म पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने हुँदा बालबालिकालाई सरकारले प्रदान गर्ने सम्पूर्ण खोपहरुको पूर्ण मात्रा लगाएर सुरक्षित गर्नु गराउन मन्त्री पौडेलको अनुरोध छ ।

मन्त्री पौडलेका अनुसार अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापर्नुका साथै कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरसहरु देखिएको हुँदा पोलियोको जोखिम कायम नै छ ।

हाम्रो देशको सन्दर्भमा पनि वातावरणमा पोलियो भाइरस भए नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको मन्त्री पौडेलको भनाइ छ ।

पोलियो कस्तो रोग हो ?
चिकित्सकका अनुसार पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । यो रोग लाग्यो भने गम्भीर किसिमका लक्षण जस्तै पक्षघात हुनुका साथै बिरामीको मृत्यु हुनसक्छ ।

पोलियो रोग दूषित खाना र पानीको माध्यबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई पनि लाग्न सक्ने उहाँ बताउनुहुन्छ । तर पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् ।  चिकित्सकका अनुसार यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ, शुद्धीकरण गरिएको पानी र स्वच्छ खानामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यो रोगको हालसमम कुनै निश्चित उपचार छैन । यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय पोलियो खोप हो ।