• १० कात्तिक २०८१, शनिबार

माटोको पाला बनाउन भ्याइनभ्याइ

blog

माटोको पाला बिक्रीका लागि तयार गरी घाममा सुकाइँदै । तस्विरः मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक ८ गते । नेपालीको दोस्रो महान् चाड तथा उज्यालो पर्व तिहार सुरु हुन एक साता बाँकी छ । कावासोतीका हरिकृष्ण प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ । 

उहाँ अझै प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त हुनुहुन्छ । तिहारको लागि चाहिने माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याइ भएको छ ।

आफ्नो बुबासँगै विगत लामो समयदेखि पाला बनाउन सिक्नु भएका प्रजापतिले भन्नुभयो, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ । दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरूको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुनेछ ।”  

गत वर्ष ५० हजार माटोको पाला विक्री गर्नु भएका प्रजापतिले यस वर्षका लागि चालिस हजार पाला बनाइसकेको बताउनुभयो । जनशक्ति कम भएकाले ४० हजार पाला मात्र बनाउन सकेको उहाँले बताउनुभयो । आफ्ना बाबु बाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उहाँको भनाइ छ । पुर्खाको पेसालाई धान्दै प्रजापतिले विगत २५ वर्षदेखि व्यावसायिक रूपमा माटोका सामान बनाउँदै आउनुभएको छ ।

सिजनअनुसार माटोका सामानहरू बनाउँदै आउनुभएको उहाँले तिहारमा भने पालाको बजार माग पूरा हुन नसक्दा अन्य जिल्लाबाट मगाउने गर्नुभएको छ । आफूले काम सुरु गरेदेखि हालसम्म कुनै पनि अवस्थामा आवश्यक कुरा खरिदका लागि पैसा अभाव नभएको उहाँको अनुभव छ । माटोका सामान विक्रीबाट वार्षिक ६ लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । 

नवलपुर जिल्ला बाहेक बाहिर जिल्लामा समेत पालाको माग बढ्दो रहेकाले राम्रो आम्दानी हुने गरेको विनयीत्रिवेणी गाउँपालिका सर्दिका श्रीराम कुमालले बताउनुभयो । माटोको पाला प्रतिगोटा पाँच रुपियाँ र एक दर्जनको ५० रुपियाँका दरले विक्री गर्दैआएको कुमालले बताउनुभयो । यहाँ तयार भएका माटोको पालासहित गमला, घैँटो, खुत्रुकी, लाखबत्ती बाल्ने आरी, कोइलेटो लगायतका माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्किवाससम्म होलसेल र खुद्रामा बिक्री हुने गरेको कुमालले बताउनुभयो ।

दीपावली र छठ पर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ ।