• १० कात्तिक २०८१, शनिबार

उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँ : स्वास्थ्यमन्त्री

blog

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई फेलोसिप कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बिहीबार फेलोसिप कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पौडेलले नेपालमा स्वास्थ्य जनशक्ति अपुग रहेको भन्दै उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प आफूसँग रहेको बताउनुभयो । उहाँले तत्काल औपचारिक योग्यता पुर्‍याएर जनशक्ति उत्पादन गर्ने स्थिति नरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मानव अङ्ग प्रत्यारोपण केन्द्रमा यो फेलोसिप कार्यक्रम सञ्चालन हुने भएको छ । यो मलाई लाग्छ समग्र स्वास्थ्य क्षेत्रको उपलब्धि हो । हाम्रो स्वास्थ्य जनशक्ति अपुग छ भन्नेकुरा हामी सबैलाई जानकारी छ । हामीसँग उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ हामीले स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प हामीसँग छैन । त्यसैले तत्काल औपचारिक योग्यता पुर्‍याएर जनशक्ति उत्पादन गर्ने स्थिति छैन ।’’

मन्त्री पौडेलले उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरू दिएर विभिन्न सेवा उपलब्ध गराउन सक्ने क्षमता वृद्धि गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रत्यारोपणको क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा पनि उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘‘त्यसैले हामीसँग उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरू दिएर विभिन्न सेवा उपलब्ध गराउन सक्ने क्षमता वृद्धि गर्न जरुरी छ । यो प्रत्यारोपणको क्षेत्रमा मात्रै होइन, अन्य क्षेत्रमा पनि यसरी हामीसँग उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर हाम्रो स्वास्थ्य सेवा क्षेत्र बिस्तार गर्न आवश्यक छ ।’’

फेलोसिप कार्यक्रमलाई सातै प्रदेशमा विस्तार गर्ने सरकारको योजना रहेको बताउनुभयो । नेपाल मेडिकल काउन्सिलले किड्नी ट्रान्सप्लान्ट सर्जरी र रिनल ट्रान्सप्लान्ट मेडिसाइन गरी दुई क्लिनिकल फेलोसिपहरू एक वर्षका लागि अनुमति दिएको हो ।