• १० कात्तिक २०८१, शनिबार

'टुक्रे योजना' कटौती गर्दै भीरकोट नगरपालिका

blog

तस्बिर : भीरकोट नगरपालिकाको कार्यालय ।

राधाकृष्ण डुम्रे 

वालिङ,कात्तिक ८ गते । स्याङ्जाको भीरकोट नगरपालिका टुक्रे योजनामा कटौती गरेको छ । थोरै रकम छुटाएर स-साना योजनाहरूमा बजेट खर्च गर्दा विकासका काम नदेखिने भएकाले भीरकोट नगरपालिकाले टुक्रे योजनालाई कटौती गरेको जनाएको छ । 

स-साना योजनाहरूमा थोरै रकम खर्चेर गरिएका कामबाट उपलब्धि नदेखिने र खर्च मात्रै बढ्ने भएकाले टुक्रे योजना कटौतीमा लागिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो । पालिकाले नगर स्तरीय बजेटलाई टुक्रे योजनामा खर्च गर्न नपाइने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको कर्माचार्यले बताउनु भयो । पालिकाले गौरवका योजना छनौट गरी दिगो विकासका लागि काम गर्न लागेको उहाँले बताउनुभयो । 

आफूहरू निर्वाचित भएर आएको साढे दुई वर्ष भइसकेको भन्दै प्रमुख कर्माचार्यले अव देखिने गरी काममा बजेट लगानी गर्न सक्रिय रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “देखिने काम गर्नुपर्छ भन्ने हिसाबले नगरले वडाको सिलिङ बाहेक हरेक वडालाई थप बजेट छुट्याएका छौँ । भूगोल र आवश्यकताका आधारमा बिसदेखि तीस लाखसम्म छुटाइएको छ र यसलाई देखिनेगरी काम गर्न चाहन्छौँ ।”

भीरकोटले सडकलाई पहिलो प्राथमिकता दिएको भन्दै कर्माचार्यले छुट्ट्याएको बजेट सके सम्म एक योजनामा खर्च गर्न निर्देशन दिइएको बताउनु भयो । दुई भन्दा बढी योजनामा बजेट राख्दै नराख्न उहाँको जोड छ । 

'टुक्रे योजना'लाई प्राथमिकता नदिऔँ, देखिने केही काम गरौँ भन्नेमा सबै जनप्रतिनिधि सहमत रहेको नगरपालिकाले जनाएको छ । 

भीरकोटमा चालु आर्थिक वर्षमा नगर स्तरीय योजना ५२ वटा रहेका छन् भने ८ करोड ८८ लाख ५० हजारको बजेट रहेको छ । अघिल्लो वर्ष नगर स्तरीय योजना मात्रै ८० वटा रहेको नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मीले बताउनुभयो ।