काठमाडौँ, कात्तिक ८ गते । नेपाल औषधी लिमिटेडले सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको छ । लिमिटेडले बिहीबार विज्ञप्ति निकाल्दै सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको हो ।
देशभर डेंगुको सङ्क्रमण बढेको अवस्थामा सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट जनगुनासो आएपछि लिमिटेडले सिटामोल अभाव नभएको स्पष्ट पारेको हो ।
लिमिटेडले खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै स्टकिस्टहरु, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आएको लिमिटेडले जनाएको छ ।
साथै लिमिटेडले डेंगु सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले आवश्यकता अनुसार सिटामोल बिहान ८ देखि साँझ ६ बजेसम्म खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ ।