• १० कात्तिक २०८१, शनिबार

वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला

blog

खोटाङको साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयमा ताला लगाइँदै । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, कात्तिक ८ गते । 
खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष नौ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला लगाइएको छ । वडाध्यक्ष अमेरिका बसेकाले सेवाग्राहीलाई समस्या भएको भन्दै सर्वपक्षीय राजनीतिक समितिले वडामा ताला लगाएको हो ।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल २०८० माघ १९ गते अमेरिका जानुभएको थियो । हालसम्म पनि नर्फिएपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले बुधबार वडा कार्यालयमा ताला लगाएको हो ।

जनताको सेवा गर्न निर्वाचित वडाध्यक्ष अमेरिकामा बसेर उल्टै जनतालाई दुःख दिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको पूर्ववडाध्यक्ष भट्टराईको भनाइ छ ।

२०८० माघ १७ गतेदेखि वडा कार्यालयमा अनुपस्थित वडाध्यक्ष कटवाले राजीनामा दिएर आसन्न उपनिर्वाचन हुन बाटो खुलाउनुपर्ने सर्वपक्षीय समितिको माग छ । हाल मात्तिमका वडा सदस्य भीमबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको छ ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो ।