• १० कात्तिक २०८१, शनिबार

अदालतप्रति सम्मान छ, कार्यपालिका पूर्वाग्रही भयो : उपसभापति वाग्ले

blog

रास्वपाले पोखरामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र प्रहरी प्रशासनले रवि लामिछानेप्रति व्यक्तिगत पूर्वाग्रह साँधेको आरोप लगाएको छ। बिहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरी रास्वपा नेताहरूले यस्तो आरोप लगाएका हुन् । 

रास्वपा उपसभापति डा. स्वर्णीम् वाग्लेले गृह प्रशासन र सरकारले राजनीतिक पूर्वाग्रह राखेको दाबी गर्नुभयो । “न्यायपालिकाप्रति हामी कसैले केही टिप्पणी गरेका छैनौँ । विमति राख्नुपर्ने खालकै अवस्था आए पनि स्वीर्काछाैँ तर सरकारले राजनीतिक पूर्वाग्रह राखेको प्रष्ट भएको छ,” उहाँको दाबी छ, “दुई गते पक्राउ गरी पोखरा ल्याइएकोमा आजसम्म चार-पाँच घण्टा मात्र बयान लिइएको छ । बयान ढिलो गरी हिरासतमै राख्ने, म्याद थप्ने नियत राखेको देखियो ।”

उपसभापति लामिछानेले दुई तिहाइको सरकारले सहकारी पीडितहरूलाई न्याय दिने पक्षमा ध्यान नदिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “दुई तिहाइको सरकारले संविधान नै संशोधन गर्न सक्छ । यस्तो शक्तिशाली सरकारले बचतकर्ताको रकम फिर्ताबारे तयारी गरेको देखिएन । अरू सहकारीबारे पनि अनुसन्धान भएको छैन ।”

रास्वपा प्रवक्ता मनिष झाले आफूहरूले संसदमा विशेष अधिवेशनको माग गरेको उल्लेख गर्दै संसद् बन्द रहेकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको उल्लेख गर्नुभयो । देशैभर सहकारीमा ८७ अर्ब ठगी भएको संसदीय समितिले औँल्याएको जनाउँदै अरू सहकारीको पनि अनुसन्धान गर्न र सूर्य दर्शनकै मुद्दामा पनि शक्तिशाली र पहुँचवालालाई उन्मुक्ति दिइएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।

पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि अहिले कास्की जिल्ला अदालत ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछाने र जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अवैधानिक रूपमा लगी ठगीमा संलग्न भएको आरोप छ । 

उहाँहरू दुवै गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक हुनुहुन्छ । गोरखा मिडियामा पोखराको सूर्य दर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रकम अवैधानिक रूपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्य दर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवेदनले देखाएका छन् । 

बिहीबार रास्वपाले जिल्ला प्रशासन र कास्की अदालतको नजिकै रहेको वाईचोकमा प्रदर्शन गरिरहेको छ । यता, सूर्यदर्शन सहकारीका पीडितहरू मुस्ताङचोकमा जम्मा हुँदै छन्। सूर्य दर्शनका पीडितहरू दुई वर्षदेखि आन्दोलित छन् भने रास्वपा कार्यकर्ताले लामिछानेलाई पोखरा ल्याएपछि दैनिक प्रदर्शन गरिरहेका छन् ।