• १० कात्तिक २०८१, शनिबार

तनहुँ मालपोतमा राजस्व वृद्धि

blog

दमौलीस्थित मालपोत कार्यालय तनहुँ । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक ८ गते । जग्गाको कारोबार बढेसँगै मालपोत कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । आर्थिक वर्ष ०७९-०८० को तुलनामा आव ०८०-०८१ मा झण्डै रु.६ करोड बढी राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

आव २०८०-८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९-०८०मा रु.३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन भएकोमा आर्थिक वर्ष ०८०-०८१ मा रु.३५ करोड ९५ लाख ५२ हजार दुई सय २८ राजस्व सङ्कलन गरेको तिमिल्सिनाले जानकारी दिनुभयो ।  

सङ्कलित राजस्वमध्ये रु.१२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा, रु.४ करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा पठाइएको उहाँले जानकारी दिनुभयो । तिमिल्सिनाका अनुसार बाँकी रहेको रकम रु.१८ करोड १३ लाख आठ हजार नौ सय सत्तरी राजस्वमध्ये ६० प्रतिशत जिल्लाका दश वटा स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेशमा पठाइएको छ । 

जग्गाको कारोबार बढ्दै गएको र जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा सूचीकृत गरिएकोले गर्दा राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्व दर बढी रहेकाले राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख केशवराज सुवेदीले जानकारी दिनुभयो । पछिल्ला समय मालपोत कार्यालयमा अनलाइन प्रणालीबाट कामकाज गर्न थालेसँगै राजस्व चुहावट कार्यमा नियन्त्रण आएको उहाँले बताउनुभयो । सुवेदीले भन्नुभयो, “राजस्व चुहावटप्रति कर्मचारी सचेत छन्,साथसाथै करसम्बन्धी स्थानीय तह र नागरिकलाई पनि सचेत गराएका छौं ।”