• १० कात्तिक २०८१, शनिबार

सन् २०२६ विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिने : फिफा अध्यक्ष

blog

फिफा अध्यक्ष जियानी इन्फान्टिनो

आदिस अबाबा, कात्तिक ८ गते । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने पुष्टि गर्नुभएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबामा मङ्गलबार अफ्रिकी फुटबलको ४६औँ कन्फेडेरेसन (सिएएफ) को साधारणसभामा बोल्ने क्रममा उहाँले भन्नुभयो, “सन् २०२६ मा हुने विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिनेछन् ।” उहाँले यो वृद्धि फिफाको विस्तारित विश्वकप ढाँचाअनुसार गरिने जानकारी दिनुभयो ।

उहाँले अफ्रिकी देशहरूलाई महादेशका युवा फुटबल खेलाडीहरूको क्षमतामा थप लगानी गर्न र बाहिर निकाल्न आग्रह गर्नुभयो । “म तपाईं सबैलाई युवा फुटबलमा लगानी जारी राख्न प्रोत्साहित गर्दछु किनभने ती युवायुवतीहरू भोलिका ताराहरू हुन्” उहाँले भन्नुभयो ।

फिफाले महिला विश्वकपमा सहभागी अफ्रिकी टोलीको सङ्ख्या छ पुर्‍याउनेबारे पनि विचार गरिरहेको उहाँले बताउनुभयो । मोरक्कोले सन् २०३० मा फिफा विश्वकप आयोजना गर्ने तयारी गरेको छ । मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी मुलुक बन्नेछ ।

सम्मेलनको उद्घाटन सत्रमा इथियोपियाका अध्यक्ष तायेओन सेलासीले सिएएफलाई सन् २०२९ अफ्रिका कप अफ नेसन्स प्रतियोगिता आयोजना गर्न इथियोपियालाई समर्थन गर्न अपिल गर्नुभयो ।

पूर्व अफ्रिकी फुटबल स्टारहरू स्यामुएल इटो, जे–जे ओकोचा, एल–हदजी डिउफ ४६औं सिएएफ साधारण साधारणसभामा सहभागी हुनुहुन्थ्यो । रासस/सिन्ह्वा