• १० कात्तिक २०८१, शनिबार

म्याद नाघेका वस्तु बजारमा

blog

स्वर्गद्वारी बजार क्षेत्रमा रहेको पसलमा अनुगमन गरिँदै । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, कात्तिक ८ गते । जिल्लामा भइरहेको बजार अनुगमनमा म्याद नाघेका वस्तु प्रशस्त भेटिने गरेका छन् । चाडपर्वको बेला गरिएका बजार अनुगमनमा धेरैजसो पसलबाट म्याद गुज्रिएको सामान बरामद हुने गरेको छ ।

गौमुखी गाउँपालिका –६ लिवाङका व्यवसायी कृष्णबहादुर मल्लले गाउँका साना पसलमा सामान ल्याएको तीन दिनमा म्याद गुज्रिएको सामान फेला परेको भन्दै त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । “सामान्य पसलको सामान किनेको २–३ दिनमा नष्ट भएका छन्” उहाँले भन्नुभयो, “त्यस्ता सामान बेच्ने ठूला पसलका गोदामको अनुगमन गर्नुपरेको छ ।” यसले साना व्यवसायलाई नोक्सानी भएको बताउनुभयो ।

प्युठान उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलले व्यापारीले सामान राख्दा उपभोग्य मितिमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । “ठूला शहरबाट पहाडी जिल्लामा यस्ता सामान आउने गरेको छ” उहाँले भन्नुभयो, “हामी व्यापारी पनि यसमा चनाखो हुनुपर्छ ।” उपभोक्ताको स्वास्थ्यमा असर पर्नेगरी व्यवसाय गर्न नहुने उहाँको भनाइ छ ।

जिल्लामा अहिले पसलको अनुगमन कार्य तीव्र छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीले जिल्लाका विभिन्न बजार क्षेत्रमा पुगेर अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा म्याद नाघेका अखाद्य बस्तु फेला परेको घरेलु तथा साना उद्योग कार्यालय प्युठानका प्रमुख मनि गुरुङले बताउनुभयो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले पनि मासु पसल र डेरीहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा सडेका मासु, म्याद नाघेका आइसक्रिम फेला परेका छन् । उपभोक्ता हितलाई ध्यानमा राख्दै अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्ने पत्रकार महासङ्घ प्युठानका अध्यक्ष सञ्जय रिजालले बताउनुभयो ।