• १० कात्तिक २०८१, शनिबार

जेठो बुढो धान खाद्यले किन्यो

blog

पोखरा महानगर र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच जेठो बुढो धानबारे भएको सम्झौता पत्र आदानप्रदान गरिँदै । तस्बिर सौजन्य: नगर प्रमुखको सचिवालय

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ८ गते । कास्कीको पोखरा महानगरपालिकाभित्र फल्ने रैथाने धान जेठो बुढो धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । पोखरा र आसपासको क्षेत्रमा लगाइने जेठो बुढो यहाँका उपभोक्ताबिच लोकप्रिय छ ।

महानगरले जेठो बुढो धानको समर्थन मूल्य प्रतिक्विन्टल नौ हजार पाँच सय तोकेको छ । खाद्यले भने प्रतिक्विन्टल.१० हजारका किन्ने भएको छ । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच पोखरा महानगरपालिकाभित्र उत्पादन हुने कृषि उपज खरिद गर्ने सम्झौता भएको छ ।

महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना केसीले सम्झौता हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार महानगरपालिकाले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकहरूलाई कुपन उपलब्ध गराउनेछ । 

पोखरा महानगर क्षेत्रको करिब चार हजार हेक्टर क्षेत्रफलमा जेठो बुढो धान लगाइएको छ । यहाँ १४ हजार मेट्रिक टन जेठो बुढो धान उत्पादन हुने अनुमान गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले सुनाउनुभयो । 

२०८२ असार मसान्तसम्मका लागि यो सम्झौता गरिएको हो । तत्काललाई जेठो बुढोको खरिद–बिक्रीको सम्झौता भए पनि आवश्यकता अनुसार अन्य रैथाने बालीसमेत खरिद–बिक्रीका लागि दुवै पक्षबिच सहमति भएको छ । यो सम्झौताले धान उत्पादनको बजारीकरण सुनिश्चित भएको नगर प्रमुख धनराज आचार्य बताउनुहुन्छ । 

“तयार हुन लागेको जेठो बुढो धान नबिक्ने हो कि भन्ने चिन्ता सकिएको छ । जेठो बुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत देशभरिका नागरिकहरूको चुलोमा पुग्ने अवस्था सुनिश्चित भएको छ,” नगर प्रमुख आचार्यले भन्नुभयो । पोखरा महानगरले जेठो बुढोसहित ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ ।

महानगरले स्थानीय उत्पादन प्रवर्धन अभियान अन्तर्गत कृषि उपजहरूको ब्रान्डिङ तथा बजारीकरणका लागि रैथाने हाटबजारसमेत चलाएको छ ।