• ८ पुस २०८१, सोमबार

विपद् व्यवस्थापनमा विश्व बैङ्कले १५० मिलियन डलर ऋण दिने

blog

काठमाडौँ, कात्तिक ८ गते । विश्व बैङ्कद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। 

विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैङ्कको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र बैङ्कका नेपाल, मालदिभ्स र श्रीलङ्का हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो। बजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औँ वार्षिक बैठकका सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरूको संयुक्त बैठकमा सहभागी हुनुभएको थियो।

आजै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलसॅंग विश्व बैङ्क, एसियाली विकास बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग अलग(अलग भेटवार्ता भएको छ। उक्त भेटवार्ताको क्रममा विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष श्री मार्टिन रेजर र कार्यकारी निर्देशक वेम्पी सुपुत्रसँग बहुपक्षीय सहायता परिचालनका विविध विषयमा छलफल भएको छ। सो अवसरमा उपप्रधानमन्त्री पौडेलले विश्व बैङ्कले नेपालको  यातायात, ऊर्जा, शिक्षा लगायतका पूर्वाधार विकास एवम् सामाजिक क्षेत्रका कार्यक्रम तथा परियोजनामा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा सहयोगको क्षेत्रलाई अझ फराकिलो र प्रभावकारी बनाउन आग्रह गर्नु भएको थियो।

त्यसै गरी, एसियाली विकास बैङ्कका उपाध्यक्ष यिङमिन याङसँग पनि आजै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलको विश्व बैङ्क मुख्यालयमा भेटवार्ता भएको छ। एसियाली विकास बैङ्क नेपालको मुख्य विकास साझेदारको भूमिकामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार एवम् सामाजिक विकासको क्षेत्रमा थप सहायता परिचालन गर्न आग्रह गर्नु भएको थियो

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलसँग आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीको पनि भेटवार्ता भएको छ। भेटका क्रममा निगमले नेपालमा निजी क्षेत्रको विकासमा लगानी बढाउँदै लगेकोमा उपप्रधानमन्त्री पौडेलले खुसी व्यक्त गर्नुभयो। साथै आगामी दिनमा निगमका गतिविधिमा प्रभावकारिता ल्याउन र थप विस्तार गर्न आग्रह गर्दै सरकारको तर्फबाट निजी क्षेत्रको विकासमा अनुकूल वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।