• ८ मंसिर २०८१, शनिबार

‘छोरी बचाऊँ छोरी पढाऊँ’ अभियान सुरु

blog

बुटवल समाचारदाता

बुटवल, कात्तिक ८ गते । रुपन्देही जिल्लाको गैँडहवा गाउँपालिकाले छोरी बचाऊँ छोरी पढाऊँ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत पालिकाले गाउँपालिकामा जन्मिएका बालिकाको बिमा गरिदिने भएको छ ।

गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले छोरी बचाऊँ छोरी पढाऊँ अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन, छोरीको शैक्षिक विकास तथा बालविवाह रोक्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो । बालिका बिमा कार्यक्रमले तराईमा सानै उमेरमा छोरीको विवाह गरिदिने परम्परा अन्त्य गर्न मुद्दत पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष बालिका बिमा योजना निर्देशिका, २०८१ मा उल्लेख भएबमोजिम गैँडहवा गाउँपालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बिचमा सम्झौता भएको छ ।

पालिका अध्यक्ष पौडेलले बालिका बिमा ई टेन्डरबाट खोलेर सम्झौता गरिएको बताउँदै बालिकाका लागि बालिका बिमा अभियानले गैँडहवा गाउँपालिकामा नयाँ सन्देश गएको बताउनुभयो । अध्यक्ष पौडेलले बिमा तत्काल लागु भएको बताउँदै बालिका जन्मिएपछि बालिकालाई प्रोत्साहन होस् भनेर बिमा गरिएको बताउनुभयो । उहाँले यो अभियानले बालिकालाई शिक्षित बनाउन र बालविवाह रोक्नका लागि भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अभियान अन्तर्गत पालिकाभित्र जन्मिने बालिकाका नाममा २० हजार रुपियाँ बिमा कम्पनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा राखिने छ । 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उपप्रमुख कृष्णप्रसाद पोख्रेलले गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाका लागि सरकारको नीतिगत व्यवस्था तथा यस गाउँपालिकाको दीर्घकालीन सोचका लागि बालिका बिमा गाउँपालिका र  बिमा कम्पनीबिचमा सम्झौता भएको बताउनुभयो ।