• ९ मंसिर २०८१, आइतबार

स्थायी आवास नबन्नेमा भूकम्पपीडितको चिन्ता

blog

जाजरकोट समाचारदाता

जाजरकोट, कात्तिक ८ गते । समयमै आफूहरूको स्थायी आवास नबन्नेमा यहाँका भूकम्पपीडितलाई चिन्ताले पिरोल्न थालेको छ । गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी यहाँका अधिकांश घरपरिवार अस्थायी आवासमा बसोबास गरिरहेका छन् ।

भेरी नगरपालिका–३ की सुषमा आरसी भूकम्पले भत्केको घर अहिलेसम्म बनाउँदा नसक्दा छिमेकी आफन्तकोमा बसेर गुजारा चलाउनु परेको दुःखेसो पोख्नुहुन्छ । भूकम्पमा परी आफ्नी छोरी गुमाएकी उहाँ सरकारको स्थायी आवास निर्माणको प्रतीक्षामा बसिरहनुभएको छ । 

त्यस्तै भेरी नगरपालिका–१, कोलचौरका उदयराम कामी आफ्नो भत्केको घर पुनर्निर्माण हुनेमा विश्वस्त हुन सक्नुभएको छैन । एकै घरमा आफ्ना परिवारका छ जना सदस्य भूकम्पबाट गुमाउन पुगेका उदय पनि सरकारले स्थायी आवास बनाइदिने प्रतीक्षामा बसेको बताउनुहुन्छ । यहाँका अधिकांश पीडित भूकम्पको एक वर्ष बित्दासमेत अस्थायी टहरा तथा जोखिमयुक्त घरमै बसिरहेका छन । यस वर्ष पनि टिनको चिसो टहरामै आफूहरूको हिउँद बित्ने हो कि भन्ने नलगाड नगरपालिका–१ का हिरालाल पुनको चिन्ता छ । सरकारले अहिलेसम्म अस्थायी आवासका लागि दिने भनेको ५० हजार रुपियाँकै दोस्रो किस्ता रकम दिन सकेको छैन । 

भर्खरै काठमाडौँलगायतका जिल्लामा गएको बाढीपहिरोको क्षतिपश्चात् झनै यहाँका नागरिकमा त्रास बढेको छ । सरकार तथा विभिन्न दातृ निकायको ध्यान ती जिल्लातर्फ जाने र आफूहरूले अब कुनै प्राथमिकता नपाउनेमा यहाँका नागरिकको चिन्ता छ । नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह नागरिकमा सरकारको प्राथमिकतामा आफूहरू नपर्ने हो कि भन्ने चिन्ता रहेको बताउनुहुन्छ ।